कुनै चित्रकारले आफ्नो
क्यानभासमा कोरेको
रङ्गविहीन झरिरहेको
पातझैँ छु म ।
जसको गन्तव्य पतिङ्गर
तर, भुइँमा खस्ने
अवधिबारे
चित्रकार आफैँ
अन्योलमा छन् ।
त्यो पातझैँ
मलाई देख्नेहरूले
यो झरिरहेको छ
भनेर ठम्याउन
सक्छन्
तर
अनुमान पनि
लगाउन सक्दैनन्
म भुइँमा समर्पित
हुने काल ।
यकिन छ ती चित्रकार, म
र पतिङ्गरमा मिसिएका
पातहरूलाई
कि म पनि
भुइँमा खस्नेछु ।
तर चित्रकारले
मलाई रुखको
हाँगाबाट चुँडिएर
नझरिसकेको पात
बनाइदिए अनि
कायम छ
मेरो अनिश्चित यात्रा ।

