साहित्यपोस्ट डट कम

कविता : मूर्छित देश

कविता : मूर्छित देश

जित्नेहरू पनि मूर्छामा छन्

हार्नेहरू पनि मूर्छामा छन्

कोही धेरै बोलेको सुनेरै मूर्छामा छन्

कोही बोली सुन्नै नपाएर मूर्छामा छन् ।

आजकल अरू काम छैन

किनकि यो पाला जित्ने र हार्ने भइसक्यो ।

वायुमण्डलमा आवाज छ

‘सुध्रिनुपर्छ नत्र सकिन्छ !’

हार्नेहरू भन्छन् ‘सुध्रिनलाई बिग्रेको हो र ?

हारेको हो, फेरि उठिन्छ, फेरि जितिन्छ ।’

उठ्नै लागेका केही मनहरू

यही सुनेर फेरि मूर्छित छन् ।

गल्ती नदोहोर्‍याउन, जितमा मइमत्त नहुन, इशारामा ननाच्न

घरधुरीबाट खबरदारी सन्देश छ

नियुक्ति, मुद्दाहरू र बिरामी पढेर

खबरदारी सन्देशहरू मूर्छित छन् ।

यसो हेर्छु देशै मूर्छामा छ

यहाँ कि त जित्ने छ, कि त हार्ने !

चोकमा सुन्छु

अक्षर लेख्नेहरू

नबिकेर, नपढिएर मूर्छामा छन्

अक्षर छाद्नेहरू

बढी बिकेर, दङ्ग परी मूर्छामा छन् ।

कोही घर बेचेको पैसा

विदेश छोरोलाई पठाउन नसकेर मूर्छामा छन्

कोही जीवनभर हाड घोटेर पनि

झुप्रो बनाउन नसकेर मूर्छामा छन् ।

कोही पिआर र भिसा नबनेर

कोही बाकसमा आफ्ना सन्तति देखेर मूर्छामा छन् ।

पढाइ, औषधिमुलो र एक सरो धरो दिन नसकेर पनि मूर्छामा छन्

कोही ओभरवेट मिलाउन नसकेर मूर्छामा

बलात्कारीहरू सुरक्षित भएर खुसीले नाचेर मूर्छामा छन्

पीडित परिवारहरू आँसु सुकेर मूर्छामा छन्।

यसो हेर्छु देशै मूर्छामा छ

यहाँ कि त पीडक छ, कि त पीडित !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.