साहित्यपोस्ट डट कम

कविता : मुक्तिकामी

कविता : मुक्तिकामी

जब

उज्यालोको साम्राज्यलाई

निस्पट्ट अँध्यारोले

आफ्नो पछ्यौराको छेउमा पोको पारेर

सुइँकुच्चा ठोकेथ्यो

गाउँबस्तीबाट

तब त

गाउँबस्तीहरूले

उज्यालोको आशा मारेर

भएभरको भरोसा सिध्याएर

मञ्जुरी दिएका हुन्

सैतानी अँध्यारोको रैती बन्न ।

घाम बाजेलाई

रात बजैले

आफ्नै पछ्यौराले छोपेपछि

हराउँदै गएको हाम्रो आँखाको ज्योतिलाई

सहाराको सल्बलाउँदो टेको दिन

टुप्लुक्क झुल्किएका

मुक्तिकामी

तारा नानीबाबुहरूकै सहारामा

चारो खोज्न निस्किएका

एकहुल सेता परेवाहरू

सुनाइरहेका छन्

अँध्यारो झ्यालखानाबाट

मुक्ति मिलेको कथा।

सम्झिरहेका छन्

तारा नानीबाबुहरूको योगदान

काटिनै लागेका पखेटाहरू जोगाएको वीरगाथा

निर्वाह गरिरहेका छन्

तारा नानीबाबुहरूलाई हुर्काउने दायित्व ।

उनीहरू भनिरहेछन्

ताराहरू अमर हुनुपर्छ

युगको संवाहक बनेर युगयुगसम्म

जसले

रात बजैको पछ्यौराबाट

सदासदाका लागि

घाम बाजेलाई खोसेर

हाम्रो पोल्टोमा राखिदिन सक्छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.