साहित्यपोस्ट डट कम

कविता : मुकारूङ्ग, नगर्ची र कफी

कविता : मुकारूङ्ग, नगर्ची र कफी

ऋणको टोपी लगाएर

विषादको गलबन्दी गलामा बेरी

खोच्याउँदै लौरो टेकेर मुकारूङ्ग खोज्दै हिँडेको

आजको नगर्ची हो

ऊ अहिलेकै राजाहरूको नगरा बजाउँथ्यो।

उसको टाउकोमाथि टेकी कैयौँ राजाहरू बने

राज्य एकीकरणको दुई सय पचास वर्ष पछिसम्म पनि

एक नागरिक हैसियतको प्यासको लौरो

टेकी हिँडिरहेको छ।

एउटै आशाको डोरो छोराले बादलमाथि चङ्गा उडायो

उसलाई समेत ल्यायो सहर, उसको पनि सोचको मौसम बदलियो

दिमागमा क्यामरा जस्तो झिलिक्क गर्‍यो

र आयो यो सहर

यता आएर सडक छेउ फालिएको कागजको

टुक्रा भई उड्यो, फाट्यो ।

तर बयान लेखाउन पुलिस थाना गएन

हराएका आशाहरूको बयान कुनै अदालतमा दर्ज हुँदैन ।

टाउकोमाथिका कपाल झरेर

निराशाहरू बाक्लै पलाए

काइँयोले तिनै निराशाहरू कोर्छ

यसको बयान कुनै थानामा लेखिँदैन ।

त्यसैले बयान लेख्ने कवि खोजिहिँड्यो

र एकदिन नगर्चीको बयान लेख्ने कवि मुकारूङ्ग भेट्न

क्याफे आइपुग्यो ।

क्याफेमा म्युजिक बजेको थियो

नगर्ची र मुकारूङ्ग झ्यालको छेउको टेबुलमा बसे।

नगर्ची बोल्यो छोराछोरी भन्दा बढी प्यारो गरी पालेका

आशाहरू कता चिप्लेर गए ?

कहाँ खोजूँ ?

अर्को बयान लेखिदेऊ कवि

म बौलाएको छु ।

जुन नगर्चीको बयान लेख्यौ

त्यो हिजोको नगर्ची थियो

म अर्कै हुँ, तर उस्तै आजको नगर्ची ।

छोराले पाँच वर्ष माओ भन्यो, बन्दुक समात्यो

भन्थ्यो बाउ, यो बन्दुकको बाटोले तिमीलाई उज्यालो धाम पुर्‍याउँछ

तर पहिला झण्डा बोकाएछन्, पछि त्यसको डन्डाले हिर्काएछन्

पहिला बन्दुक बोकाएछन्, अनि त्यसैको कुन्दाले घोचेछन् ।

पछि एक खुट्टा खोच्याउँदै आयो

अलि पछि अरब गयो ।

मलाई यो सहर ल्यायो, म डकर्मी भएँ

भन्यो बालुवा चाल्दै गर, म आएर तिम्रो फाटेको टोपी झिकी

सुनको श्रीपेच लगाइदिन्छु ।

कफी खाम कफी…

मुकारूङ्गले नगर्चीको आँखाको झ्यालभित्र हेरे

छेउको झ्यालले उनीहरूलाई हेर्‍यो ।

छोराकी आमा कोरोनाको मुखभित्र छिरी

छोरी तुइनबाट झरी

अब उसलाई पानीले नै कपाल कोरिदिन्छ

पानीले नै स्कुल पढाउँछ।

जब जान्छु, त्यो खोला एक घण्टा बोल्छु पानीसँग

कवि थाहा छैन ऊ त्यहीँ छ कि सागरको विश्वविद्यालय पुगी !

मुकारूङ्ग गुनगुनाए

“तुइन समाई गईजाउँला, तरे संसार घुमी आउँला

झरे माछा भईजाउँला…।”

मुकारूङ्गको गलामा गीत अड्कियो माछाको काँडाजस्तो

मुकारूङ्गको आँखाबाट गीत झर्‍यो ।

मुकारूङ्ग रोकिए र सोधे अनि छोरा नि ?

छोराको त के कुरा गर्नु र !

अरू उठेर आउँछन्, ऊ सुतिसुति आयो ।

उठ न छोरा भन्छु, टेर्दैन

मरे बोल्दैन, कस्तो कप्टी !

उसले त नउठेरै जित्यो

नबोलेरै जित्यो

मलाई मात्र हैन, यो संसारलाई नै पो जितेछ ।

उसलाई उडाउँदाको ऋण, टिन् टिन् गरी बज्छ कानमा ।

मुकारूङ्गको हृदय भरियो

घाम चोभारको डाँडोबाट ओर्लँदै थियो

पिउन नभ्याई कफी सेलाएको थियो ।

मुकारूङ्ग यसै बर्बराए

हे राज्य ! म अब कतिवटा नगर्चीको बयान लेखूँ ?

कतिवटा तुइनको गीत लेखूँ ?

अब मेरा कविताका सबै नगर्चीहरू

तुइनहरू राज्यको हवाला गर्छु

म आफैँलाई सुम्पन्छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.