साहित्यपोस्ट डट कम

कविता : मृत्युलाई मनपर्ने मेरो पसिना

कविता : मृत्युलाई मनपर्ने मेरो पसिना

मृत्यु अवश्यम्भावी छ

सत्य छ

अकाट्य छ ।

हरेक प्राणीमा आउने

कौतूहल जन्माउने

एउटा पहिचान नभएको

कसैले मन नपराउने

सबैको पछि–पछि लाग्ने ।

न देख्न सकिन्छ

न स्पर्श गर्न सकिन्।

न उसले माया गर्छ

न त उसलाई नै माया गरिन्छ

त्यसैले कस्तो–कस्तो लाग्छ यो मृत्यु ।

सबैको लागि मृत्यु समान छ

किनकि सबैको लागि ऊ बराबरी छ ।

प्रत्येक मानिस मृत्युको पर्खाइमा हुन्छ

तर उसलाई पटक्कै थाहा हुँदैन

कुन झम्टामा सुटुक्क आउँछ

टपक्क टिपेर लान्छ ।

उसलाई निहुँ चाहिँदैन

कारण चाहिँदैन

कसैको अनुनय–विनय चाहिँदैन उसलाई

आवश्यक हुँदैन उसलाई ।

कहिले यसो आइदिन्छ

यसो सुँघिदिएजस्तो गर्छ

हेरिदिएजस्तो गर्छ

उसलाई मन पर्दैन त्यो गन्ध

त्यसैले रोगी बनाएर भागिदिन्छ

धेरै वर्ष भौँतारिएर हराउँछ ।

केही समयको अन्तरालमा पुनः टुप्लुक्क आउँछ

अहिले सायद ऊ भोकाएको हुन्छ ।

अनि माया गरेजस्तो गर्छ

यताउति आँखा पल्याक–पुलुक गर्छ ।

कसैले नदेख्ने गरी— सुटुक्क अपहरण गर्छ

कतै लगिदिन्छ— अदृश्य गन्तव्यतर्फ ।

हो, अहिले म कुरिरहेको छु मृत्युलाई

कुनै दिन, निश्चय नै ऊ पक्कै आउँछ

किनभने मेरो पसिनाको गन्ध

उसलाई असाध्यै मन पर्छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.