मृत्यु अवश्यम्भावी छ
सत्य छ
अकाट्य छ ।
हरेक प्राणीमा आउने
कौतूहल जन्माउने
एउटा पहिचान नभएको
कसैले मन नपराउने
सबैको पछि–पछि लाग्ने ।
न देख्न सकिन्छ
न स्पर्श गर्न सकिन्।
न उसले माया गर्छ
न त उसलाई नै माया गरिन्छ
त्यसैले कस्तो–कस्तो लाग्छ यो मृत्यु ।
सबैको लागि मृत्यु समान छ
किनकि सबैको लागि ऊ बराबरी छ ।
प्रत्येक मानिस मृत्युको पर्खाइमा हुन्छ
तर उसलाई पटक्कै थाहा हुँदैन
कुन झम्टामा सुटुक्क आउँछ
टपक्क टिपेर लान्छ ।
उसलाई निहुँ चाहिँदैन
कारण चाहिँदैन
कसैको अनुनय–विनय चाहिँदैन उसलाई
आवश्यक हुँदैन उसलाई ।
कहिले यसो आइदिन्छ
यसो सुँघिदिएजस्तो गर्छ
हेरिदिएजस्तो गर्छ
उसलाई मन पर्दैन त्यो गन्ध
त्यसैले रोगी बनाएर भागिदिन्छ
धेरै वर्ष भौँतारिएर हराउँछ ।
केही समयको अन्तरालमा पुनः टुप्लुक्क आउँछ
अहिले सायद ऊ भोकाएको हुन्छ ।
अनि माया गरेजस्तो गर्छ
यताउति आँखा पल्याक–पुलुक गर्छ ।
कसैले नदेख्ने गरी— सुटुक्क अपहरण गर्छ
कतै लगिदिन्छ— अदृश्य गन्तव्यतर्फ ।
हो, अहिले म कुरिरहेको छु मृत्युलाई
कुनै दिन, निश्चय नै ऊ पक्कै आउँछ
किनभने मेरो पसिनाको गन्ध
उसलाई असाध्यै मन पर्छ ।

