साहित्यपोस्ट डट कम

कविता : मृत्युदण्ड

कविता : मृत्युदण्ड

मेरो मस्तिष्कको

कुनै कुनामा झुन्ड्याइएको

टिक-टिक, टिक-टिक

दाइँ हालिरहने भित्ते घडीबाट

अलिकति समय चोरेर

म खेती गर्छु सपनाको।

विश्वासभित्र बाँच्नेहरूका

आन्द्राबाट

निस्कने आर्तनादसँगै

बगिरहने आँसु सँगालेर

म सिँचाइ गर्छु सपनाको।

उखेलेर भविष्यहरू

निमोठेर भरोसाहरू

मेटिने गरी आफ्नै

हत्केलाका हस्तरेखाहरू

म गोडमेल गर्छु सपनाको।

एक दिन तिमी

बुट बजार्दै आउँछौ

मलाई हत्कडी लगाउँछौ

कठघरामा उभ्याएर

न्यायाधीशसामु भन्छौ

“यसले कुनै अनुमतिबिना

कुनै तिरो र कर नतिरी

सपना देख्ने कुचेष्टा गर्‍यो

श्रीमान्

दुस्साहस गर्‍यो ।

यसलाई

मृत्युदण्ड दिइयोस् ।

हो श्रीमान्

यदि तपाईं पुनर्जन्ममा

विश्वास गर्नुहुन्छ भने

यसलाई

फेरि जन्मनै नपाउने गरी

मृत्युदण्ड दिइयोस् ।”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.