यही माटो स्वीकार गरेर
माटोसरी बाँच्या भए के जान्थ्यो ?
माटासँग जीवन साटेर
माटोसरी अचेत भा’ भए के जान्थ्यो ?
बाबा चाहनुभएन बन्न माटो ।
जसरी माटामै खुसी थिए हजुरबुबा
बाबा हुनुभएन खुसी माटोमा ।
धुलो, फुस्स… फुस्स… उडेर
भुइँकुहिरो, तुवाँलो बन्यो
माटो चुम्यो मृतक बनेर
बादल चुम्यो बेपत्ता बनेर ।
काँक्राकुक्रुक्क पर्या पहाड मुन्तिर
टुक्रुक्क–टुक्रुक्क बस्या फोक्टोहरू
पाखोको पेट चिरेर कोपेको बाटो
बाटोमुनि अशान्त त्रिशूली ।
हो, बाबा माटो बन्न चाहनुभएन
बरु बग्नुभयो त्रिशूली भेलैभेल…
हजार कर्णाली बग्नुभयो आमा
करोडौँ अरुण सुकाउनुभयो आँखाबाट ।
बाबा, कति माया गर्यो त्रिशूलीले ?
त्यो अँगालो, भँगालोको
कति मायालु थियो र ?
उत्रन सक्नुभएन आजसम्म
कि किनारा लागेर तीरैतीर
बालुवा र बगर बन्नुभयो ?
तपाईँको क्रान्तिले यहाँ
गरिबको छानो झोसेर
सहरमा सबैभन्दा अग्लो भवन ठड्यायो
एक दशकमा जल्न नसकेको देश
एक रातमा खण्डहर पार्यो ।
आज फेरि, पटक–पटक ढल्नुहुन्छ
आमा, खप्न सक्नुहुन्न अब
पटक–पटकको त्यो प्रश्न
“मृतक कि बेपत्ता ?”

