साहित्यपोस्ट डट कम

कविता : मृत कुलोको ठेगाना

कविता : मृत कुलोको ठेगाना

लहर छचल्काउँदै बग्ने जीवित

झरनाको

सपना-प्यासी मनले

पखेटा फर्फराउँदै उड्न सिकेको थियो

सपना पछ्याउने एक

बगाल चराहरूको चिरबिरसँगै ।

स्रोतको बहाबसँग

बग्दै बटुल्ने गरेको थियो

बिहानी सूर्य-चम्किलो चौरको अपूर्व लोकगाथा

कहिलेकाहीँ हराउने गर्थ्यो

झाडी-जङ्गलको अँध्यारो तर्साउने निस्तब्धतामा

सिमसिमे वर्षाको रिमझिम धुनको रागमा ।

स्रोतले पनि थाहा पाएनन्, लहरले पनि बुझेनन्

एक्कासि नदीले आफ्नो बाटो बद्लाएको ।

पहिचान गुमाएको मृत कुलोको दलानमा

यतिबेला भवनहरूको दौडधुप छ

चारैतिर बिगबिगी छ कङ्क्रिटको हथौडाको ।

सिमेन्ट-बालुवाले ढाकेको ‘एजार’को* हाँगा-पातमा

वसन्तले शोकको गीत गाइरहेछ

मुर्झाइरहेका छन् राजवृक्षका पहेँला सपनाहरू ।

रूपान्तरणको नारा सुनेर चकमन्न भए

डँरिकना-खलिहनाका** रङ्गहरू

सिमकुखुरा-बकुल्लाका कल्याङ-मल्याङहरू ।

छन्दमय समयहरू पनि मानौँ पर्खिरहे

मृत कुलोको निस्तब्ध छातीभित्र ।

मूल असमिया: गीता हान्सेपी

अनुवाद: डा. देवेन सापकोटा

*एजार = पूर्वोत्तर भारतमा पाइने वृक्ष जसको गुलाबी/बैजनी फूल अति सुन्दर हुन्छ ।

**डँरिकना-खलिहना = असममा पाइने स्थानीय माछाहरू।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.