मिर्मिरेमा बिहानै–बिहानै
कोइली भेट्न आउँछ
मायालु वचनले पुकार्छ
र, मन्त्रमुग्ध शैलीमा सोध्छ
तिमी को हौ ?
गन्तव्य कहाँ हो ?
कोइलीको मन स्वच्छ हुन्छ
कोही–कसैसँग रिसराग राख्दैन
आक्रोशमा रमाउँदैन
प्रतिशोध उसको वंशमा छैन
केवल काबुमा राख्न चाहन्छ
माया, प्रेम र वात्सल्यता
सङ्कटग्रस्त अस्तित्व र प्रतिष्ठा ।
म अनकनाउँछु
नानीदेखिको बल लगाएर सोच्छु
आफैँसँग टोलाउँछु
बिस्तारै बोल्ने प्रयत्न गर्छु
मेरो कथा सुनाउन खोज्छु
छिन्नभिन्न, लथालिङ्ग र असरल्ल परेका
मेरो कर्म, जिन्दगी र सुखदुःखका यात्राहरू ।
कोही सुनून् या नसुनून्
मेरो चासोको विषय भएन
संवेदनाको घनाघोर जङ्गलमा हराएको
भावुक वेदनामा गिजोलिएको
स्वयम्सँग परिचित हुन छाडेको
अनकन्टार भीड छिचोल्दै अगाडि बढेको
म एउटा बेसुरको यात्री हुँ ।
मलाई पुरापुर थाहा छ
यो संसार स्वार्थी छ
सही र गलतको महत्त्व राख्दैन
अरूको पीडाले उसलाई रत्तिभर छुँदैन
आफ्नो वरिपरि संसार घुमेको हेर्न चाहन्छ
फगत आफू पूज्य ठान्छ
र, त्यही भ्रममा बाँच्न चाहन्छ ।
मेरो हैसियत हरतरहले कैयौँले नापेका छन्
मलाई भोग्नु भोगेका छन्
नाडी छामेका छन्
दुनियाँमा मेरो भन्नु केही छैन
सिञ्चित गर्ने एक बित्ता धर्ती
र, अञ्जुली लिने एक माना माटो छैन
म एक फुक्काफाल प्राणी हुँ ।
कसैले अचम्म मान्नुपर्दैन
मेरा लागि भोग–प्यास बिराना भइसके
सांसारिक माया–मोह लुटिइसके
अनि एउटा अनौठो जिन्दगी
मलाई पछ्याइरहेछ
र, धावा बोलिरहेछ मेरो मौनतामाथि
मेरो यात्रा र गन्तव्य सोधिरहेछ ।
हो, म आफैँसँग खुसी छु
मलाई विगतसँग कुनै पश्चाताप छैन
भविष्यसँग चिन्ता छैन
वर्तमानसँग रमाउन सिकेको छु
मेरो आफ्नै संसार छ
उत्साहप्रद र ऊर्जावान् छ
किनकि म एक निश्फिक्र मानव हुँ ।
दुनियाँ जानकार छ
हिजोको वितृष्णा
आजको लोभ
भोलिको सञ्चय
सन्तुष्टिको मापन हुन सक्दैन
केवल जलन र पीडाको भण्डार हुन्छ
ईर्ष्या, छटपटी र दुःख निम्त्याउँछ ।
हो, सबको आ–आफ्नै संसार छ
मेरो संसार अरूको भन्दा बेग्लै छ
कसैलाई दुःखद लागे पनि
कोहीका लागि चञ्चल भए पनि
मेरा निम्ति चरमोत्कर्ष र आनन्दमयी छ
म विचित्रको उरन्ठेउलो यात्री हुँ
अनौठो यायावर हुँ ।

