अचानक स्वरोजगार बन्नेतर्फ ह्वात्तै कदम चालियो
सिङ्गै गाई भित्र्याएर पशुपालन थालियो ।
आफू खरो क्रान्तिकारी कृषि क्रान्ति नारा भएको
गाई झनै क्रान्तिकारी माझै निधारमा तारा भएको ।
हिलोमा डुबेर घाँस काट्नुपर्छ
दूहेसम्म आइरहन्छ दूध भनेर ढाँट्नुपर्छ ।
खान जति खाइदिन्छ बार्न क्यै बार्दैन
खाएको भन्दा बढी हग्छ दूध पटक्कै झार्दैन ।
गाई त ल्याइयो तर खुसी होइन चोट हजार छ
माइक टाइसन र ब्रुस्लीको मिश्रित किक बजार्छ ।
अगाडि देख्नै हुन्न मलाई पोजिसन लिहाल्छ
ढुङ्ग्रो लिई छेउमा जान्छु फ्लाइङ किक दिहाल्छ ।
कोही लुटेरै धन थुपार्छन् तिनीहरूलाई चारै धाम छ
ढाडका ध्रुवध्रुवमा यसका चारै खुट्टाको डाम छ ।
पोसेँ बत्तिसा चापट अनेक ज्यानैमात्र बढायो
हिजो घाँस हाल्न जाँदा ब्वाङ्ङै गोबरमा लडायो ।
पुरै साठीओटा हजारमा भित्र्याएको यसलाई खनखनी
दायाँ बायाँ कताबाट दुहुने घुम्नुपर्छ फनफनी ।
घाँस हाल्यो सबै खान्छ पगाहा लगायो भरदिन चर्छ
दुहुन गयो एक्सन लिन्छ रेस्लिङ खेलाडीजस्तो गर्छ ।
बिहानभर लाएर गोबर सोरिन्छ मलखाडीमा पहाड भइसक्यो
कृषि क्रान्तिको अभियानमै ज्यानको बोसो आधा गइसक्यो ।
स्वरोजगार बन्ने कसरी ? कृषि क्रान्ति भन्ने कसरी ?
खेतीबारी खन्ने कसरी ? दूधको नगद गन्ने कसरी ?
अगाडि नदेख्दा ड्वाँ गर्छ अगाडि देख्दा फ्वाँ गर्छ
बाच्छो भेट्दा ट्वाँ पर्छ मलाई भेट्दा स्वाँ गर्छ ।
भित्र-भित्र दङ्ग पर्छु कृषि क्रान्ति भो सुरु जस्तो
बेच्नेले पनि के बेच्यो यस्तो कुङ्फुको गुरु जस्तो !
ओभरडोज खान्छ टन्न बिष्ट्याउँछ छेरेजस्तो
बाल्टीभित्र दूध ठ्याक्कै इनारमा पानी हेरेजस्तो ।
कहिले रेस्लिङ, कहिले कुङ्फु, कहिले यु एफ सी चलाउँछ
चारखुट्टेले दुईखुट्टेलाई भ्यात्त गोबरमा ढलाउँछ ।
कति पोसेँ के-के पोसेँ जाबो ढुङ्ग्रो भरिँदैन
घरि-घरि झाेक चल्छ कृषि क्रान्ति गरिँदैन।
गरिखाऊँ कि यत्रो परिश्रम नास पारूँ हजुर ?
दुई कुरुवालाई चार कि पाँच पारूँ हजुर ?


