यो नीति बनाउने मान्छे चुन्ने बेला हो
क्षमता र विज्ञता हेर्ने बेला हो।
यसपालि
आफ्नो पार्टी नभनौँ
आफ्नो मान्छे नभनौँ
जुनसुकै पार्टीको होस्
जहाँसुकैको होस्
जेसुकैको होस्
बस्, यति हेरौँ
सक्षम होस्, सही होस् ।
फेरि-फेरि
बाध्यतामा विदेशिन नपरोस् ।
केही गरी विदेशिनै परे पनि
विदेशमा श्रम बेचेर फर्कँदा
परिवारका लागि दुःख गरेर ल्याएको
एउटा मोबाइलमा पनि
बेच्न ल्याएजस्तो कर तिर्न नपरोस्।
विदेशबाट पठाउने रेमिट्यान्स मात्र होइन
आफ्नो मत पनि पठाउन सकियोस्
सही मान्छे चुन्न सकियोस्।
यसपालि
एक भोटका लागि
परदेशबाट समय र पैसा सबै खर्चेर
देश आउनेछु ।
कति जना चाहेर पनि आउन सक्नुभएन
आउन सक्नुहुने छैन
त्यसैले अर्को पटक
जहाँ छौँ, त्यहीँबाट भोट हाल्न पाइयोस् ।
आउनुहोस्
यसपालि अलि सोचेर
नीति बनाउन सक्ने मान्छे छानौँ ।
अनि हाम्रा सन्ततिले
भविष्य खोज्दै, काम खोज्दै
कहिले देश छोड्न नपरोस् ।



टिप्पणीहरू
अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।