सिरमा लालीगुराँस धपक्क फुलेका छन्
कस्तूरीको अत्तर हरहर बास्ना छाउँछ ।
अनि कमल प्रेम छरेर
सेता मोतीका दानाहरू टलक्क टल्किन्छन्
छनछन गरेर ती नदीनाला
सुर अनि ताल दिन्छन् ।
पहाडले सुसेली हालेर
चिरिबिरी चरीका धुन
आहा ! यो त मेरो देश पो हो त ।
बाबाको सिरमा ढाकाटोपी ढल्केको
चौबन्दी चोली र गुन्यूमा
आहा ! मेरी आमा कत्ति सुन्दरी ।
त्यो बादलको खास्टो ओढेकी प्रकृति
एकै बगैँचामा फुलेका फूलझैँ अनेक
नेपाली भाषा, जात, धर्म, अनि संस्कार र संस्कृति
मेची–महाकालीसम्मको लहर
आहा ! यो त मेरो देश पो हो त ।
चन्द्र–सूर्यको सुन्दर नयन
हेरी रहूँझैँ लाग्ने गोर्खे खुकुरी ।
तराईको ठूला–ठूला घाँसे मैदान
पहाडमा मुस्कुराइरहेको त्यो सुनाखरी
अनि वनपाखासँगै सुसेलेको
त्यो लहरे भाका
मुखियाको घरमा सधैँ गुञ्जिने मारुनी, सोरठीको ताल
बिहानीको सप्तरङ्गी किरण छर्ने स्वरूप
आहा ! यो त मेरो देश पो हो त ।


