साहित्यपोस्ट डट कम

कविता : मेरो देश

कविता : मेरो देश

हाम्रा यी झरना पहाड हरिया,देखेर आँखा भरि

नेपाली धरती हिमाल बहुतै ,हेर्दै छु मख्खै परि ।

चम्केको छ सुनै बनेर कहिले, चॅादी र मोती यहाँ

मेरो देश सधै बनोस प्रियनै,बोकेछु आशा यहाँ ॥

यो माटो शिरमा दलेर जसले,खुट्टा बढायो अघि

त्यो अग्लो चुचुरा चढेर उसले,नामै कमायो पछि ॥

नेपाली पहिलो भएछ जब यो,सुन्दा खुशीले यहाँ

मेरो देश सधै बनोस प्रियनै,बोकेछु आशा यहाँ ॥

पीडा ती मनका हरेर सबका,चङ्गा बनाई दियो

यस्तो शक्ति छ देशमा नभुले,भुल्ने बनाई दियो

हाम्रा हात सधै चलून नमरे, खन्ने छ माटो यहाँ

मेरो देश सधै बनोस प्रियनै,बोकेछु आशा यहाँ ॥

बाँचेकै छ यहाँ मिलेर अहिले ,धोती र टोपी सबै

बेला भो अब लौ मिलेर घरमा,बस्ने त हामी सबै

गालामा सबका बिहानपख नै ,देखिन्छ लाली यहाँ ॥

मेरो देश सधै बनोस प्रियनै,बोकेछु आशा यहाँ ॥

डाँडा लाल भए हिमाल छेउका,लालीगुराँसै फुली

डाँफे झै रमने मजूर वनमा, नाच्दै छ देशै डुली ॥

यो देशै हिउका विशाल जलले, बाँचेछ सारा यहाँ।

मेरो देश सधै बनोस प्रिय नै,बोकेछु आशा यहाँ ॥

यो माटो मलिलो बनेर जलमा, बग्दै छ ढुङ्गाे गली

भो धेरै मलिलो मधेश धरती , ढाकेछ अन्नै फली ।

साच्चै नै भरियो तमाम मुखमा, प्राणै बनैरै यहाँ ।

मेरो देश सधै बनोस प्रियनै,बोकेछु आशा यहाँ ॥

ती मीठा रसिला हिमाल भरिका राता गुलाबी फल

त्यो जस्तै छ यही मिठास अति नै,हाम्रै नदीका जल ।

यो नै हो अमरावती जगतको,हाम्रो र तिम्रो यहाँ

मेरो देश सधै बनोस प्रियनै ,बोकेछु आश यहाँ ॥

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.