साहित्यपोस्ट डट कम

कविता : मेरो छिमेकी

कविता : मेरो छिमेकी

मेरो देश राति मस्त सुत्छ

तर, छिमेकी सुत्दैन

अलिकति सीमा सार्छ

र भनिदिन्छ

मेरो साँध यहाँसम्म हो ।

नम्र भएर मैले भनेँ

“यसो नगर, सीमा नसार”

छिमेकीले मानेन

फेरि साँध सार्‍यो

र, आक्रोशले मलाई सोध्यो

“सीमानामा किन आएको ?”

मलाई विद्रोह ओकल्न मन छ

सीमा दशगजा कटाउन मन छ

र, साविककै ठाउँमा पुर्‍याउन

रहर पनि छ

तर के गर्नु,

छिमेकीले नाकाबन्दी गर्छ ।

हिजो महेशपुर गएँ

भान्साखोला पनि तरेँ

टनकपुरतिर लम्किँदै गर्दा

र, चाँदनी–दोधारा नपुग्दै

छिमेकीले मलाई सोध्यो

“तेरो राष्ट्रगान पढेको छस् ?”

म झस्किएँ !

सीमामा उभिएर राष्ट्रगान सम्झिएँ

छिमेकीले मात्रै साँध सारेको होइन रहेछ

राष्ट्रको ढुकढुकी र गमेँ राष्ट्रभावलाई

मेची–महाकाली भनेर

मैले नै सीमा खुम्च्याएको रहेछु ।

एउटा छिमेकी सम्ममा छ

रातारात सर्छ

अर्को छिमेकी पहाडतिर छ

त्यतैबाट थिच्छ

मेरो देशको मानचित्र

आफैँ मेची–महाकाली भन्छ ।

म सुते पनि

मेरो छिमेकी सुत्दैन

उहिल्यैदेखि र उसैगरी

अँध्यारोमै सीमा सार्छ

र, उल्टै मलाई प्रश्न गर्छ

“तैँले बुझिस्… ?

मेरो साँध यहाँसम्म पर्छ ।”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.