मेरी छोरीको आँखामा
मेरो कविता एउटा बन्द ढोका जस्तै उभिएको छ ।
ऊ औँलाले ठोक्छे, कानले सुन्छे
तर भित्रको आवाज उसम्म आइपुग्दैन ।
एक–एक हरफलाई उसले उल्टाउँछे
उसले सोध्छे, “बाबा, मैले केही बुझिनँ, यहाँ के लेखिएको छ ?”
म हाँस्छु ।
ऊ फेरि पढ्छे, झन् जोडले
जस्तो कि शब्दहरूले उसको नाम लिएर बोल्नेछन्
तर शब्दहरू चुप छन्
किनकि तिनलाई बोल्न समय चाहिन्छ।
एक दिन ऊ ठुलो हुनेछे
अनि उसको मनमा जिन्दगीका अनुत्तरित प्रश्नहरूले ठाउँ ओगट्नेछन् ।
त्यो ठाउँ खाली गर्न फेरि मेरो कविता खुल्नेछ
र बिस्तारै, एक–एक हरफमा ती शब्दहरू बोल्न थाल्नेछन्
केही रुन थाल्नेछन्, केही हाँस्न थाल्नेछन् ।
हरेक शब्दको मन हुन्छ र उसको भावनामा कविता आफैँ लेखिन्छ
तब ऊ भन्नेछे, “बाबा, अब बुझेँ ।”
म फेरि हाँस्नेछु
त्यो क्षण बल्ल मेरो कविता पूरा हुनेछ ।

