साहित्यपोस्ट डट कम

कविता : मेरी छोरी र मेरो कविता

कविता : मेरी छोरी र मेरो कविता

मेरी छोरीको आँखामा

मेरो कविता एउटा बन्द ढोका जस्तै उभिएको छ ।

ऊ औँलाले ठोक्छे, कानले सुन्छे

तर भित्रको आवाज उसम्म आइपुग्दैन ।

एक–एक हरफलाई उसले उल्टाउँछे

उसले सोध्छे, “बाबा, मैले केही बुझिनँ, यहाँ के लेखिएको छ ?”

म हाँस्छु ।

ऊ फेरि पढ्छे, झन् जोडले

जस्तो कि शब्दहरूले उसको नाम लिएर बोल्नेछन्

तर शब्दहरू चुप छन्

किनकि तिनलाई बोल्न समय चाहिन्छ।

एक दिन ऊ ठुलो हुनेछे

अनि उसको मनमा जिन्दगीका अनुत्तरित प्रश्नहरूले ठाउँ ओगट्नेछन् ।

त्यो ठाउँ खाली गर्न फेरि मेरो कविता खुल्नेछ

र बिस्तारै, एक–एक हरफमा ती शब्दहरू बोल्न थाल्नेछन्

केही रुन थाल्नेछन्, केही हाँस्न थाल्नेछन् ।

हरेक शब्दको मन हुन्छ र उसको भावनामा कविता आफैँ लेखिन्छ

तब ऊ भन्नेछे, “बाबा, अब बुझेँ ।”

म फेरि हाँस्नेछु

त्यो क्षण बल्ल मेरो कविता पूरा हुनेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.