यौवनमै चाउरिएको अनुहार
र कर्लेटी परेका ओठहरू भिजाउँदै
चिहाउँथिन् मेरी आमा
अन्धकारमा क्षितिजतर्फ
अनि अनुमान लगाउँथिन् समयको
ताराहरू गन्दै
आधा रातमै तय हुन्थ्यो
पिठ्यूँमा सन्तापको भारी बोकेर
रोशी घट्टसम्मको यात्रा
बाटाभरि चपाउँथे नाङ्गा पैतालाले
तुषारो, हिलो र ढुङ्गा
जसरी चपाउँथिन् भोको पेटमा
घाँसको भारीले किचिएर
पोल्टाको मकै
वर्षात्लाई थाहा छ
कसरी हाम्रै खरको छाना तोड्दै
मझेरीमा आहाल जम्दा
रहरहरू लत्पतिए हिलोसँगै
म चिप्लँदा
कति उद्देश्य पनि चिप्लिए मसँगै
त्यतिखेर मलाई टिप्दै
छानालाई बोरा वा प्लास्टिक ओढाएर
बाससँगै जोगाउँथिन् हाम्रो अस्तित्व
भुइँमा भाडाकुँडा थापेर
पानीसँगै भर्थिन् खुसीहरू
हिउँदलाई थाहा छ
कसरी कठ्याङ्ग्रिन्थे उनका इच्छाहरू
कलिला मुनाझैँ
कति धाँजा फाट्थे छातीमा
चिरिएका कुर्कुच्चाझै
चोलोसँगै मन टाल्दै
कसरी छोष्थिन् जिन्दगीको लाचारी
र भोगाइका भद्र अभद्र अभाव
ती सबै-सबै घुर्मेलो छायाँ बनेर
आज पनि ताजै छन् मेरा मन र मस्तिष्कमा
वर्षोंदेखि असिना पचाएका आङ
अनि तुषारो निलेका गोडा सारेर
सपनाको सगरमाथा
कहिल्यै नचढेकी मेरी आमा
जीवन नै साँचेर सागमाथाजस्तो
गाउँदेखि बेसीसम्म सपनाहरू
रोप्थिन्, गोड्थिन् र फलाउँथिन्
जो आफैँ किसान थिइन्
जिन्दगीको पनि र फसलको पनि
मदर टेरेसा, फ्लोरेन्स नपढेकी मेरी आमा
जो आफैं सिकाइरहन्थिन् सङ्कल्प र मानवता
आफू अन्याय र अन्योलतामा पिल्सिएर पनि
गाइरहन्थिन् मुक्तिको घाँसेगीत
विरहमा सुसेल्थिन् जाँगरको सिलोक
तथापि मैले बुझ्नै सकिनँ
हेर्दाहेर्दै उनसे खाइन् जिन्दगीलाई
या खायो जिन्दगीले उनलाई
पनौती घाटमा बलेको उनको अर्थीको धुवाँ छ स्मृतिमा
आज नियाल्दैछु आफैँ बाँचेको परिवेश
भत्केर नउठेका संरचनाहरू
खिइँदै गएका आदर्शहरू
चर्कदै टुटेका विश्वासहरू
अनि सोध्दैछु आफैलाई के म सकुँला त
त्यो जमानासँगै निखिएकी
आमाका आदर्शहरू बोकेर
यो जमानासँगै दौडिरहेकी
मेरी छोरीसँगै घिस्रन ?
उर्मिला काेइराला

