तिमीले त्यो सेतो कागजमा छाप लगाउनु पहिला
तिम्रो हातका ती औँलाको नङमा नीलो रङ लगाउनु पहिला
कयौँ पटक सोच त, कि मैले भोट कसलाई दिने ?
देश कुन दिशामा लिने ?
मैले मलाई मात्र होइन
मेरो आउने पुस्तालाई कतातिर लिएर जाने ?
के पाठ सिक्नेछन् तिनिहरूले ?
हो, त्यही भएर भोट खसाल्नु पहिला सोच्नै पर्छ एक पटक
मैले भोट कसलाई दिने वा कसलाई नदिने भनेर ।
एक पटक आफैँले आफैँलाई पढ त
आफैँले आफ्नै अन्तरआत्मालाई गहिरिएर सोध त !
म मेरो देशलाई सही दिशामा लाँदै छु कि गलत ?
म सही ठाउँमा यो औँलाको नीलो-कालो रङको
सही सदुपयोग गर्दै छु कि गलत ?
ती मेरी नेपाल आमाको छातीमा कयौँ पटक भाला-छुरी घोप्ने
अनि ठाउँ-ठाउँबाट लुछेर खाने कुपुत्रहरूका हातबाट जोगाउने कि ?
फेरि उही माटो र आमाको रगत चुस्नेकै लहै-लहैमा लागेको त होइन म ?
ती चिल्ला-चिप्ला कुरा…
तीन दशकभन्दा धेरै राज चलाउँदा पनि
ती बोलिँदै आएका र भोट बैंकको रूपमा प्रयोगमा ल्याइने
ती हजारौँ थोत्रा चुनावी एजेन्डाहरू
एक पनि पूरा गर्न नसकेका ती पात्रहरू
फेरि त्यही एजेन्डामा ‘थपथाप’ गरेर भन्दै छन् ।
अनि हजारौँ नेपाली आमाबुबा र दाजुभाइ-दिदीबहिनीहरूको
आफूले जानेको ज्ञान-सिपबाट केही गर्न अघि लम्किँदा
आफ्ना ती वृद्ध बा-आमा र अशक्त परिवारलाई
राहतस्वरूप जागिरे हुने सपना
हरेक पटक हरियो नोटमा नापतौल गर्ने ती मुर्दारहरूबाट छुटकारा दिलाउनु छ ।
हो, यो सबै तिम्रो-हाम्रो एक भोटले
तिमीले-हामीले गर्ने त्यो मतदानले सम्भव छ ।
विचार गर्नुहोस् नेपाली आमाबुबा, दाजुभाइ-दिदीबहिनीहरू
कि भोट कसैलाई दिँदा देश हाँस्छ ?
एक पटक होइन, अब तिमी-हामीले सयौँ पटक सोच्नुपर्ने बेला आएको छ
मेरो एक भोटले नेपाल आमाको ओठमा हाँसो फर्कििएला कि ?
यो हामीले गर्ने केवल भोट मात्र होइन
यो त हाम्रो देश बनाउने एक मूल केन्द्र हो ।
हाम्रो तागत यही हो
हाम्रो असली पहिचान र देश-माटोको मुहार फेर्ने सुनौलो समय यही एक पल हो ।
जहाँ अनेक थरीका रङ्गी-बिरङ्गी चित्रहरू भएको ठाउँ
आँखा चिम्लेर जहाँ पायो त्यहीँ होइन भोट हाल्ने हामीले ।
कसैको पार्टीप्रति अन्धभक्त भएजस्तो
कुनै पार्टीको गुलाम बनेजस्तो
अब फेरि पनि यस्तै झोले र चम्चे प्रवृत्ति रहिरह्यो भने देश के होला ?
सचेत हुनुपर्छ अब
हामीले जीवनमा गर्ने दानमध्येका
रगत दान र मतदान सबैभन्दा ठुला दान हुन्।
जुन दुवै दानले ज्यान बचाउने गर्छन्
फेरि नयाँ जीवन दिने र नयाँ सृष्टिको रचना गर्ने स्थान ग्रहण गर्छन् ।

