हामी कुनै जमानामा मौरीका घर थियौँ,
मिठासले भरिएको हावा
गर्मीहरू गन्ने दिनहरूमा ।
कसैले सुनायो
रानीले काम गर्दिनन्
त्यसैले कठिन काम गर्दै
सास फेरेको समेत कर तिर्यौँ।
ऋतु फेरिन नपाउँदै
पखेटा पातलिँदै गए
दिनहरू लम्बिँदै गए
भोकलाई ‘घार–प्रेम’को नाम दिइयो।
हरेक पटक जब जमिन काँप्यो
त्यसलाई “नयाँ सुरूवात” भनियो
तर मलाई लाग्यो उही पुरानो कथा
केवल पोसाक फेरिएको ।
म अब चिच्याउँदिनँ
म सुन्छु, आजकल शक्ति मञ्चबाट
बोल्दैन ऊ खुट्टामुनि सरसराउँछ।
जमिनमुनि ढुसीले हाम्रा
नाम सिकिसकेको छ
उसलाई थाहा छ को बाँच्छ
को चुपचाप सुक्छ
र को आफ्नो वजनले मात्रै याद गरिन्छ।
अब रुखहरू हामीसँग बोल्दैनन्
उनीहरूले धेरै सरकार देखेका छन्
मनसुनझैँ आउने, हिलो छोडेर जाने।
मैले देखेँ
बिहान र साँझको बीचमा
मौरीहरू हराए,
न शोर, न शोक
प्रतिवेदनमा मात्रै मह बढिरह्यो ।

