साहित्यपोस्ट डट कम

कविता : मानौँ, तिमी नै नयाँ नेपाल हौ !

कविता : मानौँ, तिमी नै नयाँ नेपाल हौ !

आफ्नो छातीमा हात राख

जनताले तिम्रो छातीमा मुटु राखिदिएका छन्

कमसेकम त्यो मुटुसँग खेलाँची नगर ।

किनकि त्यो मुटुमा तिम्रो जस्तै

धेरै सपनाहरूको प्राण जोडिएको छ ।

बन्दाबन्दै बन्न नसकेका

पुलहरूको प्राण जोडिएको छ

फुल्दाफुल्दै फुल्न नसकेका

फूलहरूको प्राण जोडिएको छ

‘जिन्दगी बाँच्नुभन्दा मर्नु बेस’ भन्ने

थुप्रै भुलहरूको प्राण जोडिएको छ ।

नभुल तिम्रो पोल्टामा भरिएको खुसी

खाली पोल्टाहरूको पनि खुसी हो

चिमको छेका र चुहिने छानोको पनि हो

चुलोमा नजुटेको मानोको पनि हो ।

मानौँ, तिमी नै नयाँ नेपाल हौ !

तिमीलाई मैले निराशापछिको आशा

र हराएको विश्वासपछिको

भरोसा भनेँ भने के हुन्छ ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.