इतिहासले फेरि अर्को एउटा इतिहास जन्माउँछ
हिजोका भ्रूण र बालकहरू
आज यो समयको धरोहर बनेका छन् ।
अनि उभिएका छन् अडिग
कुरो उही हो
उनीहरू पनि त भोलिको इतिहास नै बन्ने हुन् ।
त्यसैले इतिहास हिजोबाट आज हुन्छ
आजबाट भोलि
भोलिबाट पर्सि हुन्छ।
त्यसैगरी परार, अनि पराघौँ हुँदै
पुरातत्वको इतिहास–यात्रा अविराम निरन्तर
वृत्ताकार चक्रमा घुमिरहन्छ ।
फेरि हामी त किराँती हौँ
अनि मानव हौँ
त्यसैले हाम्रो इतिहास खोला अनि नदीसँग
भिर अनि पहाड र पहरासँग, फाँट र मैदानसँग
गाँसिएको पुरातन समयका पानाहरूमा
हावाको झोक्कासँगै समयका पृष्ठहरूमा फर्फराइरहेछ ।
त्यो समय, ती दिनफूलहरू
हामीले कहिले चिन्ने ?
हाम्रो इतिहास पातका पिपिरासँग
मालिङ्गोका चिउलासँग, वनका सुगन्धित फूलहरूसँग
एकान्त गुफा र ओढारसँग गाँसिएको पत्तै छैन !?
अनि ओढारका वरिपरिका कन्दमूल बोटका जरासँग
झारपातमुनि लुकेका कलकल पानीका कलकलाहटसँग
बिहानीको मधुर सूर्यको किरणसँग अनि सूर्यास्त हुञ्जेलसम्मको चराहरूको चिरवीरसँग
हाम्रो इतिहास गाँसिएको निस्पट्टै गरी बिर्सियौँ ।
हो, हामीले बिर्सियौँ हाम्रो इतिहास
उ… हिमालको चुचुरासँग गाँसेको मितेरी साइनो पनि बिर्सियौँ !
अब, हाम्रो इतिहास खोज्न खोलाको किनारमा जानुपर्छ
वनका फूलहरूको सुगन्धसँग सोध्नुपर्छ
त्यो हिम चुचुरालाई हेर्नुपर्छ ।
कसरी हाम्रो इतिहासका पृष्ठहरू हिमालझैँ अटल छन्
किन वनका चराहरूले चिरविराइरहेका छन् ?
हिजो हामीले जे–जेसँग साइनो लायौँ
जुन जुन कन्दमूल खायौँ
जुन गुफामा बस्यौँ
त्यही ओढारमा छोडेर आएका हौँ
बिर्सेको पटक्कै होइन हामीले हाम्रो मानवीय इतिहास ।
यसरी नै चक्राकारमा घुमिरहन्छ
प्रत्येक समयका पृष्ठहरूमा
हाम्रो मानवीय इतिहास !

