मेरो मन—मेरै अवयव
अनियन्त्रित घोडाझैँ
कहिल्यै वशमा रहेन ।
हठी छ, अटेरी उस्तै
न बाँध्न सक्छु उसलाई
न जित्न नै सहज ।
ललाई–फकाई
आफ्नै रङमा
ढाल्न पनि त सक्दिनँ ।
स्वेच्छाचारी ऊ
आफ्नै चाहनाको बाटो समाउँदै
जतासुकै दौडिन्छ
सीमाहरू भत्काउँदै
निर्बाध, निर्भय
निसङ्कोच ।
घरिघरि
मीठा सपनाको लोभ देखाउँछ
र म
संस्कारको डरले ग्रस्त
उसलाई अल्मल्याउन खोज्छु
नैतिकताको पाठ पढाउँछु ।
तर
पराजित बनाउँदै मलाई
सीमाहीन यात्रातिर
ऊ नै डोर्याउँछ ।
उसको सामु
कति निरीह छु म !
म दिन भन्छु—ऊ रात
म हाँस्न खोज्छु—ऊ रोइदिन्छ
म भीड रोज्छु
ऊ एकान्तमा मौन बस्छ ।
हल्का धुनसँग बग्दै
क्षितिजमा डुब्दै गरेको
रातो घामलाई
निर्निमेष हेरिरहन्छ
पीडा पोखिरहन्छ ।
मभन्दा किन फरक यो मन ?
मलाई उचालेर
कुतूहलको उडानमा
अचानक
परिणामको भागी बनाउँदै
एक्लै छाडिदिन्छ
प्रश्नहरूको माझ
ऊ भने निर्दोषझैँ
चुपचाप लुकेर बस्छ ।
देख्नेका लागि
मानौँ म नै उत्तावली
कस्तो वैरी जस्तो मन !
मभित्र मन छ—बुझ्छु
तर मनभित्र
सायद म छैन ।
मलाई बुझ्दैन ऊ
मनभित्र त
ऊ आफू मात्र
अनियन्त्रित, अराजक, एकोहोरो ।
थाहा छैन
किन सधैँ
विद्रोह गरिरहन्छ मन ?

