साहित्यपोस्ट डट कम

कविता : मलाई लाहुरे चाहिन्छ

कविता : मलाई लाहुरे चाहिन्छ

हे प्रभु ! मेरो

प्रार्थना बुझिदेऊ

मलाई मेरो आफ्नै इच्छा मेटिदेऊ

सानैदेखिको सपना

झ्वाँक यो तरुनीको कल्पना

मलाई एक लाहुरे मिलाइदेऊ

तल्लो घरको झुमाको जस्तै

कर्मठ र योग्य वर मिलाइदेऊ !

मलाई स्वच्छन्दता चाहिन्छ

मलाई लाहुरेनी हुने रहर होइन

सुन र हीराको रहर होइन

देश र विदेशको रमझम होइन

तर मेरो जवानी बुझिदिने

नारी–अस्मिताको रक्षा गरिदिने

नारी–स्वतन्त्रताको कार्यान्वयन गरिदिने

नारीभित्रको जैविकता थामिदिने

फ्रायडको यौन–मनोविज्ञान

बुझिदिने

सुम्निमाको भिल्ल पुरुष जस्तै

मलाई एक योग्य लाहुरे चाहिन्छ !

लाहुरे, लाहुरे मात्र

होइन

लाहुरे एक तालिम प्राप्त सिपाही मात्र होइन

बन्दुक र गोलाबारुदको अर्थ मात्र होइन

दुश्मनको लागि भक्षक

अनि नीति–नियमको पालक मात्र होइन लाहुरे

लाहुरेभित्र छुट्टै पुरुषार्थ छ

नारीवाद र यौनवादको भरपूर ज्ञान छ

छाउनीमा खेलेको परेडको भरपूर सीप र ताल छ

त्यसकारण मलाई लाहुरे चाहिन्छ !

मलाई लाहुरे मात्र होइन

उसले लगाएको कम्ब्याट देख्दा मात्र

उसले खेलेको परेड हेर्दा मात्र

मलाई छुट्टै आनन्दको अनुभूति हुन्छ

जीवनको बेग्लै पहिचान हुन्छ

त्यसकारण मलाई लाहुरे चाहिन्छ !

कति स्वच्छन्दतामा बग्दछ लाहुरे

कति यथार्थमा डुब्दछ लाहुरे

एक नारीको मनोभावभित्र

एक नारीको चाहनाभित्र

वर्षाको झरीझैँ बर्सन्छ लाहुरे

हावाको वेगझैँ दौड्दछ लाहुरे

आहा ! कति ठूलो सङ्कल्प

कति महान् सपना

धन्य छे तल्लो घरकी झुमा

हजारौँ लाहुरेका प्रिय झुमाहरू !!!

त्यसकारण मलाई लाहुरे चाहिन्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.