साहित्यपोस्ट डट कम

कविता : मलाई कविता लेख्न मन लाग्यो

कविता : मलाई कविता लेख्न मन लाग्यो

मलाई कविता लेख्न मन लाग्यो

भूत, वर्तमान र भविष्य देख्न मन लाग्यो।

शासन नढलेका पनि होइनन्

विश्वास नभएको पनि होइन

२००७ साल आयो, २०३५/३६ आयो

६१/६२ देखेँ

परिवर्तन र नयाँ व्यक्ति आएकै हुन् परिवर्तनको लागि ।

राणा, राजा र पञ्चायत फाले

लोकतन्त्र, गणतन्त्र नआएको र नदेखेको पनि त होइन ।

अझै कस्तो नयाँ खोजेका छौ ?

कुन सन्धिमा के बेच्न खोजेका छौ ?

परिवर्तनको लागि जल्यो

सिंहदरबार, संसद् भवन र सर्वोच्च

फेरि के जलाउने हो ? देश कसले चलाउने हो ?

स्कुल गा’को छोरो देश जलाउन जाँदा सहिद भयो

कसले देखेको छ र कहाँ परिवर्तन रगत–रहित भयो ?

हिजो अरूको कब्जामा रहेका देशहरू

भारत, कोरिया, बङ्गलादेश पनि त स्वतन्त्र भए

तर याद गर

मेरी आमाले गुलामी कसैको हुनुपरेको छैन

प्राण गुमाउनेहरूले विदेशीको पाउ छुनुपरेको छैन ।

साच्चिकै

हजुरबुबाले, बाले ऋण गरी–गरी जोडेका बारी बाँझै छन्

रोजगारीको लागि विदेशी बन्छौ

दाइलाई, भाइलाई ‘म धनी छु’ भनेर देखाउन सहर पस्छौ

मलाई लाग्दैन विश्वास ‘नयाँ जोगी’ को, कति खरानी घस्छौ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.