साहित्यपोस्ट डट कम

कविता : माइतीघरका भित्ताहरू र आवाज

कविता : माइतीघरका भित्ताहरू र आवाज

भन्छन् नि

भित्ताका पनि कान हुन्छन्

त्यसैले त, हरेक दिन माइतीघरमा

आवाज लिएर अल्पसङ्ख्यकहरू

सुनाउन इकट्ठा हुन्छन् ।

जब सरकार र सिंहदरबार बहिरा हुन्छन्

जब सर्वोच्च र संसद् भवन

नसुनेझैँ पहाड जसरी गमक्क पर्छन्

अनि पाखा लगाइएकाहरू

आवाज लिएर मण्डलामा सानो भिड

आफ्ना व्यथाहरू सुनाउन थाल्छन् ।

त्यो माइतीघरको भित्ताले बिपीका कुरा सुनेको छ

पुष्पलालका भाषण सुनेको छ

मदन र मनमोहनका आवाज सुनेको छ

पुष्पकमल, बाबुराम र खड्गको रिस र आक्रोश धानेको छ ।

माओ, मार्क्स र लेनिनको सिद्धान्त कण्ठ पारेको छ ।

अब निकोलस भुसालहरूको कुरा सुन्नुपर्छ

अब खगेन्द्र सुनारहरूलाई झेल्नुपर्छ

अब सीके राउतका कहावत सुन्नुपर्छ

अब सोबिता र तोसिमा कार्कीलाई सुन्नुपर्छ

अनि सुन्नुपर्छ मिराज र सुदनलाई ।

हुन त भित्ताहरूको कान मात्रै हुन्छ

सुनेका कुरा भनिदिने मुख हुँदैन ।

कुनै दिन भित्ताहरूको मुख पनि पलायो भने

खुसुक्क भनिदेलान् सर्वोच्चका भित्ताहरूलाई

सिंहदरबारका भित्ताहरूलाई

जो माइतीघरका भित्तासँग काँध जोडेर बसेका छन् ।

आवाजहरूको अर्थ हुन्छ

आवाजहरूमा भुइँमान्छेका वेदना हुन्छन्

आवाजहरूमा कर्णालीको भोक हुन्छ

आवाजहरूमा निर्मलाहरूको चित्कार हुन्छ

उखु किसानहरूको आँसु हुन्छ ।

आवाजहरूमा बोलिविहीनहरूको बोली हुन्छ ।

समाजवाद, पुँजीवाद र साम्यवादका

अनगिन्ती नारा सुनेर माइतीघरका भित्ताहरूले

विद्यावारिधि गरिसके ।

मानव दुःख, पीडा र ज्ञान सुनेर

भित्ताहरू साधु बनिसके ।

समानता, समावेशी र आरक्षणका सिद्धान्तले

यिनीहरूलाई पूर्ण प्रजातान्त्रिक बनाइसक्यो ।

मानवअधिकार, पशुअधिकारका नाराले यिनीहरू

अहिंसावादी भइसके ।

ल आऊ ए दुःखी आत्माहरू !

माइतीघर खुल्ला कान लिएर

तिम्रा आवाज सुन्न तयार छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.