भन्छन् नि
भित्ताका पनि कान हुन्छन्
त्यसैले त, हरेक दिन माइतीघरमा
आवाज लिएर अल्पसङ्ख्यकहरू
सुनाउन इकट्ठा हुन्छन् ।
जब सरकार र सिंहदरबार बहिरा हुन्छन्
जब सर्वोच्च र संसद् भवन
नसुनेझैँ पहाड जसरी गमक्क पर्छन्
अनि पाखा लगाइएकाहरू
आवाज लिएर मण्डलामा सानो भिड
आफ्ना व्यथाहरू सुनाउन थाल्छन् ।
त्यो माइतीघरको भित्ताले बिपीका कुरा सुनेको छ
पुष्पलालका भाषण सुनेको छ
मदन र मनमोहनका आवाज सुनेको छ
पुष्पकमल, बाबुराम र खड्गको रिस र आक्रोश धानेको छ ।
माओ, मार्क्स र लेनिनको सिद्धान्त कण्ठ पारेको छ ।
अब निकोलस भुसालहरूको कुरा सुन्नुपर्छ
अब खगेन्द्र सुनारहरूलाई झेल्नुपर्छ
अब सीके राउतका कहावत सुन्नुपर्छ
अब सोबिता र तोसिमा कार्कीलाई सुन्नुपर्छ
अनि सुन्नुपर्छ मिराज र सुदनलाई ।
हुन त भित्ताहरूको कान मात्रै हुन्छ
सुनेका कुरा भनिदिने मुख हुँदैन ।
कुनै दिन भित्ताहरूको मुख पनि पलायो भने
खुसुक्क भनिदेलान् सर्वोच्चका भित्ताहरूलाई
सिंहदरबारका भित्ताहरूलाई
जो माइतीघरका भित्तासँग काँध जोडेर बसेका छन् ।
आवाजहरूको अर्थ हुन्छ
आवाजहरूमा भुइँमान्छेका वेदना हुन्छन्
आवाजहरूमा कर्णालीको भोक हुन्छ
आवाजहरूमा निर्मलाहरूको चित्कार हुन्छ
उखु किसानहरूको आँसु हुन्छ ।
आवाजहरूमा बोलिविहीनहरूको बोली हुन्छ ।
समाजवाद, पुँजीवाद र साम्यवादका
अनगिन्ती नारा सुनेर माइतीघरका भित्ताहरूले
विद्यावारिधि गरिसके ।
मानव दुःख, पीडा र ज्ञान सुनेर
भित्ताहरू साधु बनिसके ।
समानता, समावेशी र आरक्षणका सिद्धान्तले
यिनीहरूलाई पूर्ण प्रजातान्त्रिक बनाइसक्यो ।
मानवअधिकार, पशुअधिकारका नाराले यिनीहरू
अहिंसावादी भइसके ।
ल आऊ ए दुःखी आत्माहरू !
माइतीघर खुल्ला कान लिएर
तिम्रा आवाज सुन्न तयार छ ।

