साहित्यपोस्ट डट कम

कविता : मैले बाँड्न नचाहेको क्षण

कविता : मैले बाँड्न नचाहेको क्षण

पर—हात फैलाउँदै

चुपचाप उभिएका नीला पहाड

बादलको समुद्र पछाडि

शिर झुकाई साक्षी बसेका

सेता चुचुराहरू ।

दिन तताएर थाकेको घाम

सरसामान स्याहार्दै

डाँडापारि ओर्लने तयारीमा छ ।

घर पुग्ने आतुरीमा सायद

छचल्किएर पोखिएको छ

अलिकति सुन्तला रङ

क्षितिजको धमिलो रुमालमाथि ।

दिनभरका कोलाहल

अहिले केही मत्थर छन् ।

सायद त्यसैले

चियो गर्न निस्किएका छन्

मनका आवाजहरू

गाडी, भिड र गन्थनहरूबाट टाढा

यो शान्त समयमा

जिद्दी यादका लस्कर छन्,

अनि म ।

बुकमार्कमा अड्किएको

पढेर सिध्याउन नसकेको

यो अपुरो किताब

अहिले पनि ओल्टाउँदै–पल्टाउँदै छु ।

अक्षरहरूबाट चिप्लिएर आँखा

कपभित्रको तातो चियामा

डुबुल्की मार्छन् ।

अनि म

साना घुट्काहरूमा रमाउँदै

स्मृतिहरू पिइरहन्छु ।

बिनाबिथोली मन छुँदै बगेका

साँझका शीतल झोक्का

अनि हावासँग झुम्दै गरेका

चञ्चले पातहरू ।

बन्द आँखाले पनि देख्दैछु

रुखको हाँगोकी चरी ।

यो नितान्त मेरो

समयको एक टुक्रा

कसैसँग बाँड्न चाहन्न ।

किनकि यही क्षण

म टुक्राटुक्रा आफ्ना अस्तित्वहरू

जोडिरहेछु

जीवनको अर्थ खोज्दै

छुटेका अनगिन्ती शिराहरू

खोजिरहेछु ।

सँगै उभिएको मेरो वर्तमान

निर्निमेष मलाई हेरिरहेछ ।

अहिले केवल दर्शक बनेको ऊ

तटस्थ उभिएको छ ।

अनि

ऊदेखि लापरवाह म

पुराना दिनहरूसँग लुटपुटिँदै

अपुरो किताबका आडमा

धुमिल हुँदै गरेका

सम्झनाहरू पढिरहेछु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.