फिँजारेर विश्वासको धौका भर्नु छ
आशाको ढकिया
र थन्काउनु छ भरोसाको डेलीभरि
प्रकृतिजस्तै रङ्गहीन/रङ्गीन सपनाहरू ।
लाग्छ, साक्षी थिए र रहिरहनेछन्
आकाश र धर्ती, साथै थिए
र रहिरहेछन् वनजङ्गल र नदीनालाहरू
तिनैका बिसौनी र किनाराहरू ।
तर लुटेझैँ शिशिर यामले
पाखापखेरीका हरिया रङ र वैभव
धुमिलिएझैँ बादलका गुजिल्टाले नीलो आकाश
एकाएक झरेका छन् रहरका पातहरू
उजाड समयको हाँगाबाट ।
धुमिलिएका छन् सम्भावनाका गुजिल्टाहरू
जिन्दगीको प्रवाहबाट ।
तैपनि खोतली रहेछन् मछुवारीहरू
नदीकिनारमा मछरी, घुँगी र गँगटाहरू
भिजेका झोलियाहरूसँगै
रुझेका धोतियाहरूमा
ओसिएका हात–गोडाहरूमा ।
मछुवारी कहिले बन्यो रहर
कहिले सोख र मनोरञ्जन
त कहिले बाध्यता र जीवन कहानी ।
बहाउँदै संवेदनाका राप्ती र रिउ
स्मृतिका किनारै–किनार सिर्जिइरहेछन्
संस्कार र सभ्यताको अविरल नारायणी ।
लाग्छ पाखापखेरी, खोलानाला
बिसौनी र दैनिकी जीवनयात्राका
डेली, ढकिया र धौका
सारथी हुन् जीविकाका ।
घुँगी, गँगटा र मछरी
दिव्य खुराक समयका ।
गर्दागर्दै मछुवारी, झस्किन्छन्
बुधरमिया, चाँदनीया, सुगन्धिया र किस्मतियाहरू
चस्किन्छन् सुखमती, सोनामती, लक्ष्मीया र गङ्गीयाहरू
आ–आफ्नै मर्दानाहरूका यादमा
टिकापुर, थरुहट, कमैया मुक्ति
अनि जनयुद्ध… देखि ‘जेन–जी’, क्रान्ति–प्रतिक्रान्तिहरूका नाममा ।
भोट बैंक बनिरहेछन् बुधरमियाहरू
सत्ता र सरकारको जालमा (धौकामा)।
राजनीतिको गोटी बनिरहेछन् किस्मतियाहरू
कूटनीतिको डेली र ढकियाहरूमा ।
बेखबर छन् सुखमती र लक्ष्मीयाहरू
ज्ञान, विज्ञान, कूटनीति र राजनीतिबाट
तर बिनाअनुमति सजिएका छन्
आर्ट ग्यालरी’ हरू तिनकै चित्रकारिताले ।
बिना रहर झुण्डिएका छन् सङ्ग्रहालयहरू
तिनकै मौलिक पहिचान र संस्कृतिमा ।
घन्काइरहेछन् सरोकारवाला मौलिकता प्रवर्द्धनको नारा,
रन्काइरहेछ सरकार थारु संस्कृति अन्तर्राष्ट्रियकरणको आवाज ।
दिगो विकासको ढकियामा उठिरहेछन् आदिवासी मुद्दा
पहिचानवादीका कला, सङ्गीत र साहित्यको डेलीमा ।
उता, मछुवारी कर्ममा संस्कृतिका नाममा सहिद बनिरहेछन्
सुखमतिया र चाँदनीयाहरू
यता चलिरहेछ
राजनीतिक ‘मछुवारी’ देश र जनताको नाउँमा ।

