साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : म तिम्रो गुरु हुँ

कविता : म तिम्रो गुरु हुँ

साँघुरो कक्षाकोठाभित्र फराकिलो संसारको व्याख्या गर्दै
बर्सेनि मैले नयाँ नयाँ हाँगाहरू फैलाएँ
र म ओइलाएँ
आफ्नो वरिपरि सर्वोपरि
आफ्नै निस्सासिएका सपनाहरूको पर्खाल पाएर ।
नि मैले ठिङ्ग उभिएका नाङ्गा पाँचवटा औँला पट्याएँ
आफ्ना हस्तरेखालाई छोपेर अब म मुट्ठीभित्र बन्द छु ।
मैले तिमीलाई 'क' चिनाएँ
चिनाएँ ए, बी, सी, एक, दुई र अ ।

जब तिमी आफैँ चिन्ने भयौ, तब मलाई चिन्न बिर्सियौ
मलाई चिन्न बिर्सिएका तिमी, आफूलाई चिन्न कहिल्यै नबिर्स
किनकि म तिम्रो गुरु हुँ !
ऊ बेला
तिम्रा कलिला हातका औँलामा नाचिरहेको कलम
तिम्रै पञ्जाका पञ्चबुटीमा फल्न र फुल्न दिई
हात समातेर अक्षरहरूको अनुहार बनाउन सिकाएँ ।

अर्थपूर्ण शब्दहरूलाई
कापीका पृष्ठहरूको लुगा बनाउन सिकाएँ ।
अहिले
मैले समातेर दौडाएको हात आफैँ दौडाउने भएका छौ
कोरा कागजको आङ र अनुहार आफैँ भर्ने भएका छौ
मैले सिकाएका अक्षरबाट हस्ताक्षर बनाउने भएका छौ ।
तिमी उचाइमा उभिएको देखेर यो बेला म खुसी छु
किनकि म तिम्रो गुरु हुँ !

जब
अक्षरबाट तिम्रो हस्ताक्षर चल्ने भयो
तब
मेरो नामको अगाडि 'अ' जोडियो
पेसामाथि औँला ठडियो
समय सहिद बन्यो
श्रम सम्झौता भयो
अनि म आफ्नै शिष्यको हस्ताक्षरले उदाङ्गो भएँ
र, अहिले आफ्नै कठोरताभित्र कैद छु ।

तर कुनै दिन
तिमीले चिन्न सके आफूभित्रको बतासलाई र प्रकाशलाई
जान्नेछौ मेरो अभाव, प्रभाव र स्वभावलाई ।
बाहिरबाट जतिसुकै कठोर भए पनि भित्रभित्रै म कोमल छु
हुर्किन दिने छैन म तिम्रा अभावलाई
किनकि म तिम्रो गुरु हुँ !

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.