म साट्दिन मेरो जिन्दगी !
नुनसँग साट्दिन, सुनसँग साट्दिन
खुनसँग साट्दिन, जुनसँग साट्दिन ।
यो एउटा जिन्दगी, साट्दै साट्दिन
यसरी नै बिते बितोस् जिन्दगी
कोही कसैसँग साट्दिन ।
यसै चलेको जिन्दगी होइन
जिन्दगी त्यसै चल्दै चल्दैन ।
एक मुठी सास धान्न
गनिएका छन् परानका टेकाहरू
लागेका ती सासका पासाहरू
घामजुनभन्दा पनि अनुपम छन् ।
पत्रपत्रमा बेरिएर बसेका
कति धेरै रहस्यहरू छन्
इन्द्रेणीको रङजस्तै
सजिएर बसेका सारा संवेगहरू छन् ।
घुँडो र मुन्टो जोडेर कमाएका यी आभूषणहरू
जिन्दगीभन्दा पनि मूल्यवान् छन् ।
म जान्दछु, यो वैश्य युग हो
यहाँ जिन्दगीको परिभाषा नै बदलिन्छ
जीवन कारोबार बन्दछ
जिजीविषा महँगो पर्दछ
अन्धकारको भागदौडमा
जिन्दगी साध्य होइन, साधन बन्छ ।
जिन्दगी आफैँ सिक्दछ
जिन्दगी आफैँ सिकाउँछ ।
ज्ञानमार्गमा जिन्दगी कहिलेकाहीँ
आफैँ रनभुल्लमा पर्दछ
लिलाम–बिक्रीको बजारमा
जिन्दगी कहिलेकाहीँ घटिघटाउमा पर्दछ ।
तर म साट्दिन मेरो जिन्दगी !
आगोको लप्कासँग साट्दिन
म साट्दै साट्दिन मेरो जिन्दगी
खहरेको भेलसँग साट्दिन
बरु यसै बितोस् जिन्दगी
जित र हारसँग साट्दिन ।


.jpg)
टिप्पणीहरू
अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।