साहित्यपोस्ट डट कम

कविता : म सरकार खोज्दैछु

कविता : म सरकार खोज्दैछु

आजकल म

गाउँघर, शहर अनि नगरतिर

टोल, सडक र सदनतिर

स्कूल, कलेज र बस्तीमा

सरकार नियाल्ने प्रयत्न गर्दै छु ।

किनकि,

ऊ हाम्रो

हातले दिएको भोट हो

ऊ देशको विश्वासले चलाएको

डाडु र पन्यौ हो

त्यसैले

म गाउँघरहरूमा

भोका पेटहरूमा

अनि, नाङ्गा आङहरूमा

सरकार छाम्दैछु ।

विद्यालयमा दिइने

ज्ञानका अक्षरमा खोज्दै छु

बाटोघाटो

पुल-पुसेसामा नभत्केका

अनुहारमा नियाल्दै छु

बाढी-पहिरोहरूमा

हुबरड्यामजस्तै बलियो

पर्खाल बनेर उभिएको

सरकार खोज्दै छु ।

मेलम्ची, विष्णुमती र बाग्मतीमा

सङ्ला पानीका मुहानहरूजस्तै

जनजनको विश्वासमा बगेको

सरकार खोज्दैछु म ।

चट्टानजस्तै

आफ्नै बलले उभिएको

सगरमाथा जस्तै

उच्च आत्मबलले अग्लिएको

बुद्धजस्तै ज्ञानले भरिएको

सरकार मैले सपनामा देखेपछि

विपनामा खोज्दै छु

ध्रुवताराजस्तै चम्किलो सरकार

मध्य दिनमा खोज्दैछु म ।

सरकार मैले सपनामा देखेपछि

विपनामा खोज्दैछु

ध्रुवताराजस्तै चम्किलो सरकार

मध्य दिनमा खोज्दैछु म ।

हो !

मेरो भोटको विश्वास हो सरकार

त्यसैले

मैले बनाएको विश्वास

कसैको नोट र खोटमा बिक्नुहुँदैन

मेरो शिरको सगरमाथा हो सरकार

कसैले होच्याउन नसकोस्

मेरो विश्वासको

सरकार खोज्दैछु

ऊ जङ्गे पिलर भएर

देशको सीमा जोगाउन

निरन्तर प्रतिबद्ध होस् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.