आजकल म
गाउँघर, शहर अनि नगरतिर
टोल, सडक र सदनतिर
स्कूल, कलेज र बस्तीमा
सरकार नियाल्ने प्रयत्न गर्दै छु ।
किनकि,
ऊ हाम्रो
हातले दिएको भोट हो
ऊ देशको विश्वासले चलाएको
डाडु र पन्यौ हो
त्यसैले
म गाउँघरहरूमा
भोका पेटहरूमा
अनि, नाङ्गा आङहरूमा
सरकार छाम्दैछु ।
विद्यालयमा दिइने
ज्ञानका अक्षरमा खोज्दै छु
बाटोघाटो
पुल-पुसेसामा नभत्केका
अनुहारमा नियाल्दै छु
बाढी-पहिरोहरूमा
हुबरड्यामजस्तै बलियो
पर्खाल बनेर उभिएको
सरकार खोज्दै छु ।
मेलम्ची, विष्णुमती र बाग्मतीमा
सङ्ला पानीका मुहानहरूजस्तै
जनजनको विश्वासमा बगेको
सरकार खोज्दैछु म ।
चट्टानजस्तै
आफ्नै बलले उभिएको
सगरमाथा जस्तै
उच्च आत्मबलले अग्लिएको
बुद्धजस्तै ज्ञानले भरिएको
सरकार मैले सपनामा देखेपछि
विपनामा खोज्दै छु
ध्रुवताराजस्तै चम्किलो सरकार
मध्य दिनमा खोज्दैछु म ।
सरकार मैले सपनामा देखेपछि
विपनामा खोज्दैछु
ध्रुवताराजस्तै चम्किलो सरकार
मध्य दिनमा खोज्दैछु म ।
हो !
मेरो भोटको विश्वास हो सरकार
त्यसैले
मैले बनाएको विश्वास
कसैको नोट र खोटमा बिक्नुहुँदैन
मेरो शिरको सगरमाथा हो सरकार
कसैले होच्याउन नसकोस्
म
मेरो विश्वासको
सरकार खोज्दैछु
ऊ जङ्गे पिलर भएर
देशको सीमा जोगाउन
निरन्तर प्रतिबद्ध होस् ।

