साहित्यपोस्ट डट कम

कविता : म पर्खिरहेको छु

कविता : म पर्खिरहेको छु

तिमी आउने आगमनको पथ हेर्दाहेर्दै

मैले कति साँझहरू अस्ताएको देखेँ

कति ऋतुचक्र बदलिएको महसुस गरेँ

तर मेरा नयनका पुतलीहरू

तिमी हिँड्ने त्यही अनुपम पथमै स्तब्ध छन्।

शीतल जल तिम्रो स्पर्शले पावन हुन आतुर छ

सुगन्ध तिम्रो सुवासमा विलीन हुन व्याकुल छ

स्वयं वसन्त आएर सोध्छ

‘के उनी आइन् र म नयाँ पालुवा पलाऊँ ?’

मलाई बताससँग कलह गर्न मन छ

तिम्रो सुवास किन उडाएर ल्याएनौ ?

म अमावस्यालाई सम्झाउँछु

अब तिमी तिमिरामय हुन पर्दैन

उसलाई नियाल्ने आँखाहरू मसित छन् ।

म क्षितिजको लालीलाई बताउँछु

म तिमीलाई आलिङ्गनमा बेरेर

एकदिन तिम्रै आँगनमा ओर्लनेछु ।

म कल्पना गर्छु, तिमी त्यसरी आउँछौ

जसरी अन्धकारमा पथ देखाउन जुनकिरी आउँछन् ।

जब म चन्द्रमासँग तिम्रो गन्तव्य सोध्छु

ऊ तिम्रो चालको सम्झनामा टोलाउँछ ।

म झक्झक्याउँछु, अनि ऊ सुस्तरी भन्छ

‘संसारका समस्त घडीहरू टक्क रोकिए पनि

म तिमीलाई नै प्रतीक्षा गरिरहेको हुनेछु

जसरी एउटा पिपासु बगरले

प्रथम वृष्टिको थोपालाई पर्खिरहेछ ।’

एउटा अन्तिम अभिलाषा भनूँ ?

तिमी जसरी आऊ, जस्तो स्वरूपमा आऊ

या जसको भएर आऊ

तिमीलाई एक झल्को हेर्न म पर्खिरहेको छु

म पर्खिरहेको छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.