उनले पर्ख भने
म पर्खिरहेँ ।
पर्खिँदा-पर्खिँदै मेरो जीवनका
अनगिन्ती वर्षहरू
क्यालेन्डरका पानासँगै फाट्दै गए ।
मेरो जीवन
कपाल बनेर फुल्दै गए
मेरो जीवन
दाँतहरू बनेर फुक्लँदै गए
मेरो जीवन
पोटिलो थियो, सिनित्तै चाउरेर गए ।
अझै आशा मरेको थिएन
ऊ आउँछ भनेर उनको बाटो हेर्दाहेर्दै
आँखाले देख्नै छाडे ।
मुटुको गति बिस्तारै-बिस्तारै धिमे बन्दै गए
उनी गएको अप्ठ्यारो गोरेटो सडक बन्यो
त्यो सडकमा थुप्रै ‘पर्ख’ भन्नेहरू
र पर्खिरहेकाहरू कयौँ आए, कयौँ गए ।
तर उनी कहिल्यै आएनन् !
धेरै पछि
मैले मेरो जीवन पूरै भोगचलन गरिसकेपछि
मैले मेरो यो थोत्रो, मैलो जीवनलाई
माया गर्नै छाड्ने बेला उनी आए ।
मलाई ‘पर्ख’ भन्ने मान्छे
आउन त आए, तर उनले आफ्नो जिन्दगीको
फैलिएको फैलावट र परिवार लिएर आए ।
म भने
उनकै उन्नति र प्रगतिको कामना गरिरहेँ ।

