साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : म मेमल हूँ

कविता : म मेमल हूँ

न म मेसी हूँ

न म रोनाल्डो न रोनाल्डिनियो

म पेले पनि होइन

म्याराडोना पनि होइन, माइक टाइसन त झन् होइन

प्रिय ब्रुसली पनि पक्कै होइन

एट्लस र खली त हुने कुरै भएन

त्यसो भए म को हूँ ?

म हुनुचाहिँ हूँ

एउटा पक्का जीवन योद्धा हूँ

एउटा साँचो प्रेम हूँ

एउटा त्यागमुखी सत्य हूँ

एउटा समर्पणयुक्त नतमस्तक हूँ ।

थोरै भए पनि रिस ममा पनि छ

थोरै भए पनि आरिस ममा पनि छ

केही महत्त्वाकाङ्क्षी र पापी मन पनि छ

कहिलेकाहीँ दानी तन, मन, धन पनि बौरिन्छ

अचेल म आकलझुकल पुसको आगो ओकल्छु

कहिलेकाहीँ खडेरीको सित बर्सिन्छु ।

भलै म तिम्रो मनमा मिल्न नसकूँला

तिम्रो खेलमा खेल खेल्न नसकूँला

हातमा हात गाँस्न नसकूँला

मनमा मन टाँस्न नसकूँला

तर

आगोले निलेको तिम्रो मनको ब्ल्याकहोलभित्र

युगदेखि युगौँसम्म उत्सर्जन हुँदै आएको त्यो पुरातन मेमल मकै हूँ

त्यो अनौठो आदिम मेमल मै हूँ ।

साझा गर्नुहोस्:
तीर्थ निरौला

लेखकको बारेमा

तीर्थ निरौला

थप रचनाहरू पढ्नुहोस् →

तीर्थ निरौला एक सफल चित्रकारका साथै कडा कला समीक्षकका रूपमा समेत चिनिनु हुन्छ । उहाँका चित्रकलाहरू देशमा मात्र नभएर विदेशमा समेत प्रदर्शित छन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.