म यो बिक्ने र बेच्ने वैश्ययुगको बार्दलीमा बसेर
कोरा सपनाहरूको
फजुल अधुरो पटकथा लेख्दै गरेको
बोल्ने, चल्ने र हिँड्ने एक क्विन्टल हाड–मासुको थुप्रो !
लोकमाथि अनवरत वर्षिरहेको अत्याचार मूकदर्शक बनेर
केवल टुलुटुलु हेर्ने एउटा जिउँदो द्रष्टा हुँ ।
राजनीतिमा अघोर साधना गरेर
देश र जनताको मुहार फेर्न ‘एमफिल’ गरेका महान् नेता
कार्यकर्ताको थिचोमिचो टुलुटुलु हेर्दै
सदा सहिरहने मानिसहरूको दुःख र कष्ट मोचन गर्न नसक्ने
हुतिहारा एउटा सिङ्गो लाचार द्रष्टा हुँ ।
थोरै प्रयासले बचाउन सकिने ‘बा’ लाई
बचाउन नसकेर
दोष जति द्रव्यको टाउकोमा हालेर
कुबेलामै टुहुरो भई कल्पनामा ‘बा’ को करुणालाई
सम्झी सम्झी बा भाकाहरूको बरन्डामा खप्पर ठोकाउन
खप्पिस कायर डुकुलन्ठु एउटा धराको बोझ
अकल्पनीय द्रष्टा हुँ ।
समयको आरनमा जीवन नामक खुकुरीलाई
पाइन हाल्न घामलाई आँगनछेउमा ल्याएर,
खिया लागेको जमानाको धातु पगाल्दै गरेको
आफ्नै छायामा, मायाको भ्रममा हराउँदै गरेको
एउटा आलोचित द्रष्टा हुँ ।
कहिल्यै समाप्त नहुने सङ्घर्षको कथा र कविता लेख्दालेख्दै
आफ्नै गुनासोको गाँठो फुकाउन नसकेर
चुपचाप आफूसँग आफैँ हारेर
आलोचित हरुवाको पगरीमा सजिएर सहजै
सपनाहरूको सहरमा डुलिहिँड्ने डुलुवा
एउटा अजि़ब द्रष्टा हुँ ।
बिस्तारै अन्त्य हुने जीवन र जोबनको यात्रामा
समयको चकमकमा उमेर सल्काउँदै गरेको
फगत द्रष्टा हुँ ।
फोकटमा पाएको जिन्दगी भन्दै जिन्दगीलाई
जिम्मेवारी बनाउनुको साटो
व्यर्थमा नजानेको तानपुराको तालमा डुबेर फगत स्वाङमा
“सकिनु भन्दा पहिल्यै सक्नु पर्छ” भनी बाटो कुबाटो
जताततै, जस्तोसुकै अवस्थामा कुदिरहेको
एउटा अजि़ब द्रष्टा हुँ ।
घोर अपमानित अपमानहरू सहँदै
देख्दादेख्दै नदेखेको अभिनय गरेर
चुलीमा पुगेको हिमयात्रीझैँ अरूले पुर्याएको
अक्सिजनको सहारामा बाँचेको
एउटा अद्भुत द्रष्टा हुँ ।
हो म, केवल द्रष्टा हुँ !
मितेरीको नाउँमा छिमेकीको अतिक्रमण
टुलुटुलु हेरिरहने द्रष्टा हुँ ।
आफ्नै दाजुभाइ–दिदीबहिनी देशान्तरमा निर्यात गरेर
आयात गरेको दाल–चामलमा जीवन देख्ने कायर द्रष्टा हुँ ।
सलामी र गुलामीको फलिफापमा हुर्केका झोले र झन्डेको
अत्याचार खेप्न जानेको
एउटा सिपालु द्रष्टा हुँ ।

