म बहुरूपी हुँ ?
वा बहुमुखी ?
कि म ऐनामा टाँसिएको
अचल प्रतिबिम्ब मात्र हुँ ?
म को हुँ ? म कस्तो हुँ ?
तिमी मलाई कस्तो देख्छौ ?
र त्यो देखाइमा म कति हराउँछु ?
तिमीले मलाई कस्तो देख्यौ
र जीवनको रथ गुडिरह्यो ।
म कहिले
तिम्रो आँखाको उत्सवमा कोमल फूल बनेँ
कहिले आफ्नै फूलहरू जोगाउन कठोर काँडा बनेँ ।
कहिले तिमीले छोडेको अँध्यारोको गल्लीमा
हीराझैँ टल्किएँ
कहिले हीराले पनि चिर्न नसकेको अँध्यारो बनेँ ।
तिमी वनवास हिँड्यौ
म पछि लागेँ, सीता बनेँ ।
अग्निको बाटो आयो
म परीक्षा बनेँ ।
आगोले पोल्दा पनि आस्था नजलोस् भनेर
श्वास थामेर उभिएँ ।
अभावहरूको कमण्डलुमा
कहिले भिक्षा बनेँ
मेरो स्वाभिमान दान गरेँ र तिमीलाई जोगाएँ ।
आँखा लाग्दा तिम्रो खुसीमा
दुर्गा भगवती बनेँ
दश हात उमारेर संसारसँग जुधेँ ।
जे-जे बनेँ
सधैँ सावित्री, सती बनेँ
तर आज
म प्रश्न बनेर उभिएकी छु ।
म बहुरूपी होइन
म परिस्थितिको रङमा रङ्ग्याइएको इतिहास हुँ ।
म बहुमुखी होइन
म समयको बहावमा
आफूलाई जोगाउँदै एकै लयमा बगेकी नदी हुँ ।
तिमीले देखेको रूप मेरो सम्पूर्णता होइन
तिमीले चिनेको नाम मेरो सीमारेखा होइन।
म फूल पनि हुँ तर आफ्नै ऋतुमा फक्रिने
म काँडा पनि हुँ तर आफ्नै सुरक्षाको निर्णयमा उम्रिने।
म हीरा पनि हुँ जसले अँध्यारो संसार उजिल्याउँछ
म अँध्यारो पनि हुँ जहाँबाट नयाँ बिहान जन्मिन्छ ।
म भिक्षा होइन, अधिकार हुँ ।
म अनुसरण होइन, परिभाषा हुँ ।
अब कसैको कथा भएर होइन
म आफ्नै आख्यान लेख्नेछु ।
र त्यो आख्यानभित्र म परीक्षा होइन, परिणाम बन्नेछु ।
म मेरा हरेक प्रश्नहरूको उत्तर बन्नेछु
अनि तिमीलाई सोध्नेछु
“म के हुँ ?”
“म को हुँ ?”

