साहित्यपोस्ट डट कम

कविता : म को हुँ ?

कविता : म को हुँ ?

म बहुरूपी हुँ ?

वा बहुमुखी ?

कि म ऐनामा टाँसिएको

अचल प्रतिबिम्ब मात्र हुँ ?

म को हुँ ? म कस्तो हुँ ?

तिमी मलाई कस्तो देख्छौ ?

र त्यो देखाइमा म कति हराउँछु ?

तिमीले मलाई कस्तो देख्यौ

र जीवनको रथ गुडिरह्यो ।

म कहिले

तिम्रो आँखाको उत्सवमा कोमल फूल बनेँ

कहिले आफ्नै फूलहरू जोगाउन कठोर काँडा बनेँ ।

कहिले तिमीले छोडेको अँध्यारोको गल्लीमा

हीराझैँ टल्किएँ

कहिले हीराले पनि चिर्न नसकेको अँध्यारो बनेँ ।

तिमी वनवास हिँड्यौ

म पछि लागेँ, सीता बनेँ ।

अग्निको बाटो आयो

म परीक्षा बनेँ ।

आगोले पोल्दा पनि आस्था नजलोस् भनेर

श्वास थामेर उभिएँ ।

अभावहरूको कमण्डलुमा

कहिले भिक्षा बनेँ

मेरो स्वाभिमान दान गरेँ र तिमीलाई जोगाएँ ।

आँखा लाग्दा तिम्रो खुसीमा

दुर्गा भगवती बनेँ

दश हात उमारेर संसारसँग जुधेँ ।

जे-जे बनेँ

सधैँ सावित्री, सती बनेँ

तर आज

म प्रश्न बनेर उभिएकी छु ।

म बहुरूपी होइन

म परिस्थितिको रङमा रङ्ग्याइएको इतिहास हुँ ।

म बहुमुखी होइन

म समयको बहावमा

आफूलाई जोगाउँदै एकै लयमा बगेकी नदी हुँ ।

तिमीले देखेको रूप मेरो सम्पूर्णता होइन

तिमीले चिनेको नाम मेरो सीमारेखा होइन।

म फूल पनि हुँ तर आफ्नै ऋतुमा फक्रिने

म काँडा पनि हुँ तर आफ्नै सुरक्षाको निर्णयमा उम्रिने।

म हीरा पनि हुँ जसले अँध्यारो संसार उजिल्याउँछ

म अँध्यारो पनि हुँ जहाँबाट नयाँ बिहान जन्मिन्छ ।

म भिक्षा होइन, अधिकार हुँ ।

म अनुसरण होइन, परिभाषा हुँ ।

अब कसैको कथा भएर होइन

म आफ्नै आख्यान लेख्नेछु ।

र त्यो आख्यानभित्र म परीक्षा होइन, परिणाम बन्नेछु ।

म मेरा हरेक प्रश्नहरूको उत्तर बन्नेछु

अनि तिमीलाई सोध्नेछु

“म के हुँ ?”

“म को हुँ ?”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.