साहित्यपोस्ट डट कम

कविता : म गाउँ छोडेर सहर आएँ

कविता : म गाउँ छोडेर सहर आएँ

म गाउँ छोडेर सहर आएँ

बा र म रातभर सल्लाह गरेपछि

म काठमाडौँ जाने भएँ ।

साना भाइ, बहिनी

घरको आँगन

गाउँ र बाल्यकालको छायाँ छोडी

म गाउँबाट सहर लाग्ने भएँ ।

मेरी आमालाई नसोधी

म राजधानी सहर जान तयार भएँ ।

त्यो साहस थिएन, त्यो कायरता थियो मेरो

त्यसैले निस्केँ, तर आमाको माया बोकेर निस्केँ ।

बा र मेरा ती सल्लाह

के–के थिए, के–के !

सल्लै–सल्लाहमा

सबै छोडी काठमाडौँ जाने भएँ ।

एउटा युवा जो सपना र डर एकैसाथ बोकेर

मनमा भविष्यले के लेखेको छ भन्ने डरै–डरमा

के रहर बोकेर म सहर आएँ !

यो खबर

बाले आमालाई कसरी सुनाउनुभो कुन्नि !

सायद

“छोरो राजधानी गयो” भन्दै

बडो खुसी र गर्वमा सुनाउनुभो होला ।

सायद बाको आँखामा भोलिको सपना थियो

छोराको भविष्य थियो

गाउँभन्दा ठूलो संसारको आशा थियो ।

मामाघर पठाएकी मेरी आमाले

के थाहा पाउनुभयो होला र ?

म उतैबाट मामासँगै राजधानी जान बाटो लागेँ ।

मामासँग म निकै फत्किँदै–फत्किँदै

मुग्लिन काटेँ ।

नौलो बाटोमा बस गुडिरहँदा

पहाड, मोड र अँध्यारा बाटाहरू

पछाडि छोडिँदै गए ।

आमासँग भन्न नपाएका बातहरू

मैले मामासँग मारेँ ।

तर मनभित्र भने

आमाकै अनुहार आइरह्यो

आमाकै आवाज सुनिइरह्यो ।

पुसको कठ्याङ्ग्रिँदो चिसो

रातभरि बाटोमा बस गुडिरहँदा

कहिले झ्यालबाट छिर्ने सिरेटो

कहिले मनभित्र पस्ने डर

त्यही भोक, निद्रा र जाडोबीच

म बा सम्झिँदै, आमा सम्झिँदै

काठमाडौँ आएँ ।

भोक, निद्रा र जाडोमा आमाको माया

मैले काठमाडौँमा अझ सम्झन पाएँ

म राजधानी सहरमा

निकै आरामै छु भनी

चिठी पठाएँ ।

आफूभित्रको डर लुकाएर

एक्लोपनलाई शब्दमा नलेखेर

आमाको मन नआत्तियोस् भनेर

मैले सुखको खबर पठाएँ ।

गाउँको आँगनमा बहिनीले चिठी पढिहोली

बहिनीको ओठमा दाइका अक्षरहरू नाचे

आँगनमा बाआमा, परिवार, सबै कान थापेर बसे ।

लामो सास फेर्दै भन्नुभएछ घरै शून्य पारेर, राजधानी पुगेछ

“नआत्तिनुस्, हाम्रो छोरा परदेश होइन, देशमै छ

देशको राजधानीमा ।”

एक बचन पनि नसोधेकोमा जेठो छोराको विवशता ठान्नुभएछ

आमा ! तपाईँको विशालता यहीँ छ

गल्ती ठान्नुभएन

विवशता ठान्नुभयो, यो ममता हो, न्याय हो ।

त्यसमा आमाको माया थियो

आमाको खाली काख थियो

आमाको सुनसान आँगन थियो

र टाढा पुगेको छोरालाई

भित्रभित्रै दिएको आशीर्वाद थियो ।

र म

काठमाडौँको भीडमा

गाउँ बोकेर हिँड्न थालेँ ।

बाको सल्लाह

आमाको छटपटी

बहिनीले पढेको चिठी

र घर शून्य पारेको त्यो दिन

यी सबै मेरो जीवनको

पहिलो राजधानी बने ।

म गाउँ छोडेर काठमाडौँ आएँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.