म गाउँ छोडेर सहर आएँ
बा र म रातभर सल्लाह गरेपछि
म काठमाडौँ जाने भएँ ।
साना भाइ, बहिनी
घरको आँगन
गाउँ र बाल्यकालको छायाँ छोडी
म गाउँबाट सहर लाग्ने भएँ ।
मेरी आमालाई नसोधी
म राजधानी सहर जान तयार भएँ ।
त्यो साहस थिएन, त्यो कायरता थियो मेरो
त्यसैले निस्केँ, तर आमाको माया बोकेर निस्केँ ।
बा र मेरा ती सल्लाह
के–के थिए, के–के !
सल्लै–सल्लाहमा
सबै छोडी काठमाडौँ जाने भएँ ।
एउटा युवा जो सपना र डर एकैसाथ बोकेर
मनमा भविष्यले के लेखेको छ भन्ने डरै–डरमा
के रहर बोकेर म सहर आएँ !
यो खबर
बाले आमालाई कसरी सुनाउनुभो कुन्नि !
सायद
“छोरो राजधानी गयो” भन्दै
बडो खुसी र गर्वमा सुनाउनुभो होला ।
सायद बाको आँखामा भोलिको सपना थियो
छोराको भविष्य थियो
गाउँभन्दा ठूलो संसारको आशा थियो ।
मामाघर पठाएकी मेरी आमाले
के थाहा पाउनुभयो होला र ?
म उतैबाट मामासँगै राजधानी जान बाटो लागेँ ।
मामासँग म निकै फत्किँदै–फत्किँदै
मुग्लिन काटेँ ।
नौलो बाटोमा बस गुडिरहँदा
पहाड, मोड र अँध्यारा बाटाहरू
पछाडि छोडिँदै गए ।
आमासँग भन्न नपाएका बातहरू
मैले मामासँग मारेँ ।
तर मनभित्र भने
आमाकै अनुहार आइरह्यो
आमाकै आवाज सुनिइरह्यो ।
पुसको कठ्याङ्ग्रिँदो चिसो
रातभरि बाटोमा बस गुडिरहँदा
कहिले झ्यालबाट छिर्ने सिरेटो
कहिले मनभित्र पस्ने डर
त्यही भोक, निद्रा र जाडोबीच
म बा सम्झिँदै, आमा सम्झिँदै
काठमाडौँ आएँ ।
भोक, निद्रा र जाडोमा आमाको माया
मैले काठमाडौँमा अझ सम्झन पाएँ
म राजधानी सहरमा
निकै आरामै छु भनी
चिठी पठाएँ ।
आफूभित्रको डर लुकाएर
एक्लोपनलाई शब्दमा नलेखेर
आमाको मन नआत्तियोस् भनेर
मैले सुखको खबर पठाएँ ।
गाउँको आँगनमा बहिनीले चिठी पढिहोली
बहिनीको ओठमा दाइका अक्षरहरू नाचे
आँगनमा बाआमा, परिवार, सबै कान थापेर बसे ।
लामो सास फेर्दै भन्नुभएछ घरै शून्य पारेर, राजधानी पुगेछ
“नआत्तिनुस्, हाम्रो छोरा परदेश होइन, देशमै छ
देशको राजधानीमा ।”
एक बचन पनि नसोधेकोमा जेठो छोराको विवशता ठान्नुभएछ
आमा ! तपाईँको विशालता यहीँ छ
गल्ती ठान्नुभएन
विवशता ठान्नुभयो, यो ममता हो, न्याय हो ।
त्यसमा आमाको माया थियो
आमाको खाली काख थियो
आमाको सुनसान आँगन थियो
र टाढा पुगेको छोरालाई
भित्रभित्रै दिएको आशीर्वाद थियो ।
र म
काठमाडौँको भीडमा
गाउँ बोकेर हिँड्न थालेँ ।
बाको सल्लाह
आमाको छटपटी
बहिनीले पढेको चिठी
र घर शून्य पारेको त्यो दिन
यी सबै मेरो जीवनको
पहिलो राजधानी बने ।
म गाउँ छोडेर काठमाडौँ आएँ ।

