नआत्तिनु ! म फेरि हराउन सक्छु
यतै कतै भौतारिएको हुन सक्छु ।
नदीसँगै बगिरहेको हुन सक्छु
हिमालको काखमा थकान मारिरहेको हुन सक्छु ।
हावासँगै वाफ बनी उडिरहेको हुन सक्छु
पुस्तकालयहरूमा अतिरञ्जित पात्रहरूसँग
गफिएको हुन सक्छु ।
म यही भिडमा हुनेछु, तर भिन्न हुनेछु ।
म अव्यक्त प्रश्नहरूले भरिएको छु
अन्तरमनको द्वन्द्वमा झमेलिएको छु ।
म श्मशानमा प्रेतात्माहरूसँग
अन्धकारभित्रको प्रकाशबारे बहसमा हुन सक्छु ।
नदीले बगाउन नसक्ने बन्नु छ
आगोले जलाउन नसक्ने बन्नु छ ।
नआत्तिनु ! म फेरि हराउन सक्छु
म आफ्नै आत्माको गुफामा
ध्यानमग्न भएको हुन सक्छु ।
म यतै कतै सर्वत्र हुन सक्छु
खोज र बोधको यात्रामा निस्किएको हुन सक्छु ।
फर्किआउँदा नडगमगाउनु
म एक भयानक सम्मिश्रण भएको हुनेछु
वैराग्य र मोहको
आत्मस्वभाव र स्वरूपको ।

