साहित्यपोस्ट डट कम

कविता : म एक आमा हुँ

कविता : म एक आमा हुँ

म एक आमा हुँ ।

मेरा छोराछोरीको म डाक्टर पनि

मेरा छोराछोरीको म मास्टर पनि ।

किताब मात्र होइन, संस्कार पढाउने म हुँ

अक्षर मात्र होइन, आचरण चिनाउने म हुँ ।

म एक आमा हुँ

तालिम खासै लिनुपर्दैन मलाई

मैले छोराछोरीलाई धेरै माथि उडाउन सक्छु ।

डिग्री नै गर्नुपर्दैन मलाई

म मेरा छोराछोरीलाई जीवनको परिभाषा पढाउन सक्छु ।

मेरो भान्छामा पाक्ने खाना

मेरा छोराछोरीका लागि सबैभन्दा उत्कृष्ट परिकार ।

म पहिलो पाठशाला, म मेरा छोराछोरीको,

र म नै उनीहरूको पहिलो शिक्षक ।

छोराछोरीलाई काखमा सुताउँदै

मीठा–मीठा गीत गाउने म गायिका पनि ।

जीवनको कथामा अभिनय गर्ने र नाच्ने म

मेरा छोराछोरीका लागि नायिका पनि ।

म एक आमा हुँ

तोते बोलीमै शब्दका नालीबेली सिकाउने

पहिलो ‘स्पिच थेरापिस्ट’ नै म ।

कपाल छाँटेर, काटेर र बाटेर सुन्दर बनाउने

पहिलो ‘हेयर स्टाइलिस्ट’ नै म ।

लुगा मिलाएर लगाउन सिकाउने

पहिलो ‘फ्यासन डिजाइनर’ नै म ।

जीवनका साना–ठूला हिसाब सिकाउने

पहिलो ‘फाइनान्सियल एडभाइजर’ नै म ।

म एक आमा हुँ

छोराछोरी मात्र होइन, घर पनि चिरिच्याट्ट पार्ने म

घरको ‘क्लिनर’ पनि ।

जीवनका अप्ठ्यारा पाठ र भोगाइ सिकाउने म

‘कोच’ र ‘ट्रेनर’ पनि ।

मेरा छोराछोरीको जग बलियो बनाउने म

इन्जिनियर पनि ।

लाइसेन्स मलाई चाहिँदैन

जीवनको गाडी कुदाउने म उनीहरूको ड्राइभर पनि ।

भुलचुकमा माफी दिने र कहिलेकाहीँ दण्ड दिने

म न्याय पनि हुँ ।

कसैले पढ्न नसक्ने, कसैले लेख्न नसक्ने

खै, “म आमा” आफैँमा एउटा अध्याय पनि हुँ ।

छोराछोरी मात्र होइन,

म घरलाई बाँधिराख्ने एउटा मजबुत डोरी हुँ ।

सबैलाई माया बाँड्ने म

एक आमा हुँ, बुहारी हुँ, र म कसैकी छोरी हुँ ।

कति धेरै हतार, भागाभाग र दौडधुप मलाई

सबैलाई कता–कता कुदाउँछु म ।

व्यस्त पनि कति धेरै बरै

घामभन्दा पहिले उठ्छु र जून सुतिसकेपछि निदाउँछु म ।

सबैलाई सबैथोक दिएर

सारालाई ठाउँमा पुर्‍याएर अघि बढाउने

मेरो मनमा मायै–मायाको खानी छ ।

चाहिँदैन मलाई कुनै ओहोदा वा नाम

पर्दा पछाडि रमाउने मेरो पुरानो बानी छ ।

यति धेरै सम्बन्ध र जिम्मेवारीका टोपी मेरा

तर अफसोस, पेसा मेरो भइदियो “हाउसवाइफ” मात्र ।

म “हाउसवाइफ” ले एकछिन बिदा लिने हो भने

किन पर्छ होला सारा ‘हाउस’ छिनमै अलपत्र ?

सिफ्टका सिफ्ट, ड्युटीका ड्युटी मेरो

न कहिल्यै बिदा, न छुट्टी, न कहिल्यै ब्रेक मलाई।

पैसाले मात्र मेरो धैर्य र परिश्रम साट्न सके त

घरभरिमा सबैभन्दा धेरै हुन्थ्यो होला मेरो कमाइ !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.