साहित्यपोस्ट डट कम

कविता : म विद्रोह हुँ !

कविता : म विद्रोह हुँ !

म त्यो पागल हुँ

जो यमराजको ढोकाको

कुण्डी खटखटाइरहेछ ।

म गर्जन हुँ

पर्वतको त्यो छातीबाट उठेको,

जहाँ युगौँदेखि ज्वालामुखी निदाएको थियो ।

म बल्दो प्रश्न हुँ

त्यही ज्वालामुखीको मुखबाट बगिरहेको,

तिमीलाई चेतना हुनेछ छिट्टै

म स्वयं प्रश्नको उत्तर पनि हुँ ।

क्रान्ति हुँ, म लाभाहरूको नदी हुँ

म हरेक रैतीको नसामा बगिरहेछु ।

म हुरीको उल्टो वेग हुँ,

कुनै धर्मको काँधमा अडिन्नँ ।

नियमका कुनै नाङ्ग्राले

मेरो रुद्रघण्टी चिर्न सक्दैन

यो मुटुको आगो

कुनै सिंहासनको फलामभन्दा पुरानो छ ।

मैले स्वयं प्रमिथसको हत्केलाबाट

थापेको हुँ यो आगो

जसले गाल्न सक्छ कुनै पनि सिंहासन ।

म ती मारिएका मानिसहरूको पुनर्जन्म हुँ

हिजो जे थिएनन् ती मारिएका आँखाहरूमा

त्यो आगो, त्यो चेत

त्यो चट्याङ छ यो आँखामा ।

मलाई पर्खालहरू नदेखाऊ

चुरचुर धुलो बनाउनेछु

सडकमा सिमानाहरू नकोर

म नामेट बनाउनेछु ।

मेरो जात आकाश हो

जो अविभाज्य छ

मेरो रङ्ग रगत हो

जो अमिट छ ।

मेरो परिचय नसोध

म भिडभित्रकै एउटा आवाज हुँ

म आवाजहरूको भिड हुँ ।

म समयको टुक्रा हुँ

इतिहासको अनन्त शृङ्खलाको कडी हुँ

जसले कोपर्नेछ तिम्रो

महिमागान कुँदिएको भित्तो ।

त्यही इतिहासमा

तिम्रो साम्राज्य

तिम्रो सत्ता बाँकी रहनेछ

पर्वतको भित्तोबाट

चोइटिएको एउटा ढुङ्गासरी

बाटोमा शिलालेखझैँ मिल्किएको

वा कयौँ हातमुनि जमिनमा धसिएको ।

म शब्दहरूमा हुँकार हुँ

कवितामा अग्निको भर्भराहट हुँ ।

अब समय आएको छ

हाम्रा गीतहरू गर्जने

र तिम्रा बन्दुकहरू मौन हुने ।

असम्भव अब सम्भव हुनेछ !

उछिट्टिएर भर्खरै खस्दै गरेका

लाभाहरूसँगै खसिरहेका छन्

आकाशबाट क्रोधले लाल आँखाहरू

जो हिजोसम्म तिम्रा पैतालामुनि

आँसु बगाउँदै थिए।

झ्याल खोल, बार्दलीमा आएर हेर

तिम्रो सहरमा रैतीका मथिङ्गलमा

ज्वालामुखी फुटेको छ !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.