साहित्यपोस्ट डट कम

कविता : म अर्थात् पूर्णता

कविता : म अर्थात् पूर्णता

आँखा चिम्लन्छु र घोत्लिन्छु

झर्झराउँदो ताप शिरमा चढ्छ

मभित्र एक अग्नि छ

नाभिभित्रको गहिराइमा

च्वास्स घोच्ने एक चिसो छ

हो मभित्र एक हिमयुग छ

घरको मूलढोका बाहिरै

समस्याको बिस्कुन सुकिरहन्छ

बिझ्छ छातीनेर कतै

शिर यसै लत्रन्छ

अनि

मनको गहिराइमा छ्वास्स एक पहिरो

झर्छ

आकाश अनायास अँधेरो हुन्छ

तर

प्रत्येकजसो नुक्कडहरूमा

एक गिलास माया र

गफको सितन एक प्लेट

एक मधुर–मधुर भट्टीमा

एक अञ्जुलि आशा अनि

निस्पट्ट अन्धकारमा एक दियो

पिलपिल पिलपिल टिमटिमाउँछ

हो मभित्रै एक समाधान छ

अरबको मरुभूमि र अमेजनको जङ्गल

सगरमाथाको उचाइसँगै

मरियाना ट्रेन्चको गहिराइ,

रत्नाकरभित्रको वाल्मीकि

सबै सबै मभित्र छ ।

हो

मभित्र कालो र सेतो दुवै छ

हरेक दिन आफैँसँग एक युद्ध लड्छु

हरेक दिन आफैँसँग एक युद्ध हार्छु

अञ्जलिका अस्त्रले म अर्जुन

हिलोमा फसेको रथको पाङ्ग्रो निकाल्दै

गरेको

आफैँलाई प्रहार गर्छु

हरेक दिन एक कुरुक्षेत्र बन्छु ।

कर्ता, कर्म र नतिजा

आफैँमा व्याप्त

म दिव्य कृष्ण हुँ

आफैँमा सम्पूर्ण !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.