म कतै हराउँदा तिमीले मलाई खोजी दिनु
के थाहा, म तिमीभित्रै हराएको पाे छु कि
तिमीले बुझ्ने कोसिस गरिदिनु ।
हुन सक्छ, तिमीसँगको साथ
र आफ्नोपन मनमा सजाएर
मौनतामा रमाउँदै पो छु कि
तिमीले मेरो आँखामा झाँकी हेरिदिनु ।
तिमीसँगको रङ्गीन संसारमा हराउने रहर
आज पनि उत्तिकै छ
जति तिमीसँग पहिलो दिन लजाएर बोल्दामा थियो ।
तिमीसँग जीवन फुल्ने र फुलाउने
आज पनि उत्तिकै कोसिसमा छु ।
जुन बेला आँखामा मात्र होइन
मुटु नै चिरिने गरी आँसु तिमीले बगाइदिँदा
त्यो रङ्गीन सपनालाई सादा रङ्गमा तिमीले ढालिदिँदा ।
सम्झ न माया, तिमी र म अर्थात् हाम्रो ।
हो नि साँच्चै, हामी आफैँले सजाएको सपना
तिम्रो र मेरो फुलेको जीवनबाट फक्रिएका यी दुई फूल
उनीहरूको झन् कति होलान् सपना र जीवनप्रतिको आशा ।
“बाबा” र “मामु” भन्दै
छुनुमुनु गर्दै वरिपरि उफ्रिने रहर
उनीहरू चराझैँ चिरबिर चिरबिर गर्दा
तिमी र म, हाम्रो आफ्नै सिर्जना उनीहरूलाई
कस्तो हुन्थ्यो होला त्यो न्यानोपन हामीबीचमै नभेट्दा ।
कति सोच्दा हुन्
“फलानो साथीको जस्तो मेरो पनि भइदिए
म पनि त्यसैगरी रमाउन पाउँथेँ भनी ?”
बुझ न माया, म किन हराएँ ।
सङ्घर्षका कथा त तिमीलाई नै थाहा छ
किन म दुनियाँसँग डराएँ ।
त्यही डरको बीचमा त हो नि माया
तिमीलाई नै आफ्नो बनाएको ।
तिमी कति महान् भन्ने मनलाई
कसरी बुझाऊँ ?
तिमीलाई सजाएको मनबाटै
तिमी नै किन बिलायौ भनी
बुझ न माया
तिम्रा ती सङ्घर्षका दिन ।
आज कहाँ छौ
पहिले के थियौ ?
किन बिर्सिन्छौ ती सबै
साथ, सम्मान, माया र समर्पणको ऋण ।
के तिमीलाई अलिकति पनि लाग्दैन मनमा
“म हराएँ भने के होला ?” साँच्चै छैन र पीर ?
कि सधैँ बोल्ने गरेझैँ
हराउँछौ हाम्रा ती कोमल र निर्मल
आँखाका नानीहरूलाई छोडेर
सधैँभरि मलाई
आँसु निकाल्ने गरी ?
अनि अर्को गन्तव्य खोज्दै
फेरि पनि सधैँ भन्ने गरेझैँ
कुनै समय बर्बाद नगरी
नयाँ मायाको पलुवा बसाउने गरी ?
भन है माया
जुन दिन तिमीसम्म
यी मेरा मनका वेदना पुग्नेछन्
के तिमीले मेरो मन
साँच्चै नै स्पर्श गरेका थियौ ?
कि त केवल नाटकमै
भावनाबिनाको एउटा पात्र थियौ
आजसम्म पनि ?
भन है माया
के तिमी आफैँसँग साँचो भयौ ?
कि आफैँलाई पनि ठग्यौ
हाम्रो सानो र खुसीको संसारलाई
सधैँ ठगेझैँ गरी ?

