साहित्यपोस्ट डट कम

कविता : म आगो हुँदा तिमी पानी हुनु

कविता : म आगो हुँदा तिमी पानी हुनु

म कतै हराउँदा तिमीले मलाई खोजी दिनु

के थाहा, म तिमीभित्रै हराएको पाे छु कि

तिमीले बुझ्ने कोसिस गरिदिनु ।

हुन सक्छ, तिमीसँगको साथ

र आफ्नोपन मनमा सजाएर

मौनतामा रमाउँदै पो छु कि

तिमीले मेरो आँखामा झाँकी हेरिदिनु ।

तिमीसँगको रङ्गीन संसारमा हराउने रहर

आज पनि उत्तिकै छ

जति तिमीसँग पहिलो दिन लजाएर बोल्दामा थियो ।

तिमीसँग जीवन फुल्ने र फुलाउने

आज पनि उत्तिकै कोसिसमा छु ।

जुन बेला आँखामा मात्र होइन

मुटु नै चिरिने गरी आँसु तिमीले बगाइदिँदा

त्यो रङ्गीन सपनालाई सादा रङ्गमा तिमीले ढालिदिँदा ।

सम्झ न माया, तिमी र म अर्थात् हाम्रो ।

हो नि साँच्चै, हामी आफैँले सजाएको सपना

तिम्रो र मेरो फुलेको जीवनबाट फक्रिएका यी दुई फूल

उनीहरूको झन् कति होलान् सपना र जीवनप्रतिको आशा ।

“बाबा” र “मामु” भन्दै

छुनुमुनु गर्दै वरिपरि उफ्रिने रहर

उनीहरू चराझैँ चिरबिर चिरबिर गर्दा

तिमी र म, हाम्रो आफ्नै सिर्जना उनीहरूलाई

कस्तो हुन्थ्यो होला त्यो न्यानोपन हामीबीचमै नभेट्दा ।

कति सोच्दा हुन्

“फलानो साथीको जस्तो मेरो पनि भइदिए

म पनि त्यसैगरी रमाउन पाउँथेँ भनी ?”

बुझ न माया, म किन हराएँ ।

सङ्घर्षका कथा त तिमीलाई नै थाहा छ

किन म दुनियाँसँग डराएँ ।

त्यही डरको बीचमा त हो नि माया

तिमीलाई नै आफ्नो बनाएको ।

तिमी कति महान् भन्ने मनलाई

कसरी बुझाऊँ ?

तिमीलाई सजाएको मनबाटै

तिमी नै किन बिलायौ भनी

बुझ न माया

तिम्रा ती सङ्घर्षका दिन ।

आज कहाँ छौ

पहिले के थियौ ?

किन बिर्सिन्छौ ती सबै

साथ, सम्मान, माया र समर्पणको ऋण ।

के तिमीलाई अलिकति पनि लाग्दैन मनमा

“म हराएँ भने के होला ?” साँच्चै छैन र पीर ?

कि सधैँ बोल्ने गरेझैँ

हराउँछौ हाम्रा ती कोमल र निर्मल

आँखाका नानीहरूलाई छोडेर

सधैँभरि मलाई

आँसु निकाल्ने गरी ?

अनि अर्को गन्तव्य खोज्दै

फेरि पनि सधैँ भन्ने गरेझैँ

कुनै समय बर्बाद नगरी

नयाँ मायाको पलुवा बसाउने गरी ?

भन है माया

जुन दिन तिमीसम्म

यी मेरा मनका वेदना पुग्नेछन्

के तिमीले मेरो मन

साँच्चै नै स्पर्श गरेका थियौ ?

कि त केवल नाटकमै

भावनाबिनाको एउटा पात्र थियौ

आजसम्म पनि ?

भन है माया

के तिमी आफैँसँग साँचो भयौ ?

कि आफैँलाई पनि ठग्यौ

हाम्रो सानो र खुसीको संसारलाई

सधैँ ठगेझैँ गरी ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.