साहित्यपोस्ट डट कम

कविता : लुसिफर

कविता : लुसिफर

अव्यक्त चेतनामा

बमबारी गरेर तहसनहस बनाउँछ

सत्ताको घोडा चढेको

बिब्ल्याँटो मानिसको विरुद्ध

सडक जाम गर्छ ।

लोकले नियमित ठानेको

सबै प्रकारको नियमिततामा

आगो झोसेर खरानी बनाउँछ

एक अलग चरित्र लुसिफर ।

लुसिफर मेरो दैनिकीभित्र

नजानिँदो गरी बसेर

तमाम कुरामा निर्देशन दिन्छ ।

म उसको भारी बोक्ने

एक पीडित भरिया हुँ

वा बहादुर सिपाही ?

लुसिफरको प्रेत वा उसको आदर्श

जसले मेरो चेतना बिटुलो बनाएको देख्छन्

समाजको मुखिया

अफिसको कारिन्दा

मन्दिरको पुजारी

र यो देशका ठेकेदार या ठग ।

यिनीहरूलाई डर छ

आफ्नो मस्तीको दरबार

भत्केर सडकको बास हुनेछ ।

तिनलाई लाग्छ

म लुसिफर चेतना बोकेर हिँडेको छु

तिनको सत्ता भत्काउन ।

मेरो देशबाट

प्रत्येक उडानसँगै उड्छन्

दसैँको जमरा थाप्ने शिर

तिहारको टीका थाप्ने निधार

प्रेमिकाले चुम्बन गर्ने ओठ

र प्रेमको अङ्गालो ।

त्यहीँ रोपिन्छ लुसिफरको बीज

जो हुर्कन्छ

कलमको निब भएर

खबर बोक्ने अखबारहरूमा

र जसले प्रलय निम्त्याउँछ

शासकका टाउका ताकेर ।

ती भ्रष्ट टाउका

ती अपारदर्शी टाउका

ती अन्यायलाई स्वाद मानेर

गीत गाइरहेका टाउका

ती गिदी नभएका टाउकाहरू

ती आँखा नभएका टाउकाहरू

श्रवण शक्ति गुमाएर

अचेत पल्टिएका हिटलर

मार्कोस र इदी अमिन टाउकाहरू !

के गलत भयो र ?

के अपराध भयो र

तमाम सपनाहरू निरुद्देश्य

पत्कर भएर

हावामा उडिरहेको सहरमा

चट्टान भएर उभिनु

पर्खाल भएर ठडिनु ?

हो, म चट्टान भएकै हुँ

म पर्खाल भएकै हुँ ।

ए सम्पादक ! लेखिदिनु यो खबर

पुगोस् प्रत्येक आवाजविहीन

कमजोर र अशक्त व्यक्तिका घर-घर

म लुसिफर, तिम्रो ईश्वरलाई

मुर्दाबाद भन्न उभिएको छु !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.