कविता लेख्न नपाएको पनि निकै भएछ
हिजोआज किन यति बिजी-बिजी ?
केही काम गर्ने फुर्सद पनि छैन
एउटा कोठामा लडेर के गरेको छ-गरेको छ !
माकुराले आफ्नो घर सिध्याइसकेछ
टेबुल-कुर्सीमा धुलो जमिसकेछ ।
दिन छोटो भएर हो कि क्यारे
कविता लेख्न नपाएको पनि निकै भएछ ।
समय बिजी हो कि म
म बिजी हो कि तिमी ?
तिमी बिजी हो कि समय ?
हिजोआज त होइन
धेरै समय भयो क्यारे
भेट्ने फुर्सद त कल्पनाबाहिरको कुरो
देखादेख गर्ने फुर्सद पनि कल्पनाबाहिरकै झैँ लाग्छ।
कुरा खोस्न पनि गाह्रो छ जस्तो छ
अब घडी कुर्दै बस्नुपर्ने अवस्था भएको छ।
दिन छोटो कि मेरो भावना
या त कल्पना छोटो भएर हो ?
कविता लेख्न नपाएको पनि निकै भएछ।

