लाग्नु भनेको
लाग्नु भनेको छाम्छाम् छुमछुम्
हिँड्नु भनेको
हिँड्नु भनेको हल्लिँदैहल्लिँदै
उँभो भनेको उँभो
उँभो भनेको उँभो
भनेको त्यतै कता
लौ लागियो यसरी !
हिउँका अग्ला
बगरमा खुड्किला ताछेर तलतलसम्म
गाईगोठ, पाठशाला, संसद् भवन, जुत्ता
कारखानाबाट उठाएर हिमालका गालामा दल्दै कालो गोबर
भाँचिएको
सिँढीलाई ठाडो राख्दा जस्तो हुन्छ बिर्सिएर
निद्रामा गाँजा
तानेर बाइबल मुन्धुम गायत्री फलाक्दै वीर ब्राह्मणको आदिवासी भेषमा
अहिले नै भनेको
भोलिदेखि शुभारम्भ गर्ने टुङ्गोमा
लाग्दैछौँ
लाग्दैछौँ उँभो उँभो …
… मङ्गलमय शुभकामना
कहाँबाट कता जाने
भन्ने पनि अलिकपछि मात्र थाहा हुन्छ
कसको उज्यालोमा
कसको नक्सामा कसको बाह्रखरीमा
खुट्टा टेक्नु थाहा हुन्छ अलिकपछि थाहा हुन्छ
भी म सिँ ह ब ल
से न अ म र भ द्र सम्झेपछि मात्रै
मात्रै थाहा
हुन्छ
ने हँ हँ पा हँ हँ ल हँ हँ
सम्झेपछि मात्रै
मात्रै थाहा
हुन्छ
हामी वीर ! हामी
बुद्ध ! हामी बुद्धु !
लागेका छौँ
पेटभित्र खुट्टा खाँदेर भाँचकुच
लागेका छौँ
पछिपछि कति हो कति कमिलाका बथान
लागेका छौँ
अघिअघि असंख्य लासहरूको कल्याङमल्याङ
लागेका छौँ
पर्खिँदै पर्खिँदै जुका उडुस जन्मस्थान बुद्ध जङ्गबहादुरको घोडा सम्झेर
अरे ! इतिहास
सम्झेर
लागेका छौँ
लागेका छौँ लागेका छौँ कोतपर्वदेखि कोतपर्वसम्म
अरे ! इतिहास
सम्झेर
…आह ! थाकेको छु !
बिहानैदेखि
सुतेका हौँ बिहानसम्मै सुतेका हौँ
तर पुग्नु छ
कागजात अभिलेख
चिना हिजो नै बागमतीमा बगाएका हौँ
तर पुग्नु छ
लठ्ठी जुत्ता
खुट्टा टाउको हात हिजो नै झोलामा बाँधेका हौँ
तर पुग्नु छ
केवल पेट केवल
पेट पेट मात्र बोकेका हौँ
तर पुग्नु छ
हामी सडक किनारमा
छरिएका चकलेटका खोल !
हामी केटाकेटीका
मलामीहरू !
यतै खाल्डा
बनाएका छौँ लाग्दैछौँ
उतै एम्बुस
थापेका छौँ लाग्दैछौँ
पारि पुल बनाएर
पारि नै छोडेका छौँ
वारि बाटो बनाएर
वारि नै मोडेका छौँ
सम्म मैदानको
तराई लाग्दै डिलैडिल अक्करे भिर बनाएका छौँ
हिमशिखरबाट
राजमार्गका लागि हिमशिखर नै लडाएका छौँ
अहा !… अब केहीबेर आराम गर ! किनभने युद्धहरू
पनि बिसाउने मन गर्छन् ! केहीबेर आराम गर !
उँभो लाग्नुको
पूर्व तयारी यसरी
बुढाबुढीका लागि
सम्झनाको बाँसको आर्यघाटको इन्तजाम
युवायुवतीहरूका
लागि सुनको लङ्का ल्हासा सुन चन्द्रमाको रोटी
केटाकेटीका लागि
गुड मर्निङ सि यु सुन थ्याङ्क युको कालोपाटी
लौ शुभकामना !
प्रहरीका काँध
नुहिएर हातहातमा संविधानका उपधारा
न्यायाधीशका
पछ्यौरीमा घरायसी हनुमानको पुच्छर लामो लामो
प्राध्यापक
महोदयलाई खुलामञ्चभरि घुमीघुमी शुभकामना मन्तव्य
हराइसकेको
लोखर्केलाई खोजीखोजी घुम्ने मेचमाथि अन्धो मान्छे
टुकुचाको मजधारमा
मुस्किलले तैरिएको खोयाको बिर्कोलाई सरकारी माला
चरैवेती ! चरैवेती !
लौ लागियो। लौ लागियो ।
यस्तो यात्रा
इतिहासमा विरलै कथामा विरलै
चरैवेती चरैवेती
उँभो लाग्ने
यात्रा इतिहासमा विरलै भविष्यमा विरलै
अरे ! भविष्यमा ।
अरे ! भविष्यमा ।

