साहित्यपोस्ट डट कम

कविता : लासहरूको सहर

कविता : लासहरूको सहर

म भ्रमण गर्दै छु लासहरूको सहरमा

जीवन्तता देख्दिनँ यहाँ कतै पनि

सडकमा, पेटीमा, आकाशे पुलहरूमा

झुपडीमा, महलमा, मान्छेका हुलहरूमा ।

म देख्छु केवल मरेका, सडेगलेका लासहरू !

कात्रोले समेत नछोपिएका

घिनलाग्दा नाङ्गा लासहरू !

कोही पैदल हिँड्दै छन्

कोही सवार छन् गाडीमा

कोही आफ्ना जोडीसँगै अभ्यस्त छन् काममा

सडक आसपासका सुकेका झाडीमा ।

खाइलाग्दा देखिन्छन् कोही, कोही छन् कुपोषित नरकङ्काल !

बोल्छन्, चल्छन्, सास फेर्छन्

कोही गर्छन् अट्टहास !

खित्का छोड्छन्, चित्कार गर्छन्

बडो विचित्रका छन् यी लासहरू !

उक्लँदै गर्दा आकाशे पुलमाथि

एउटा नारी आकृतिको लास,

म नजिक आउँछ ।

कस्तो–कस्तो इसारा गर्दै मेरो कानमा सुटुक्क भन्छ

“के तिमी लास बन्न चाहन्छौ ? हिँड, म तिमीलाई लास बन्न सघाउँछु ।

पुंसत्व छ भने हिम्मत गर, मेरो सेवा महँगो छैन, मौका आउँछ पर्खँदैन ।”

म पुंसत्व प्रमाणित गर्ने चुनौतीलाई बेवास्ता गर्दै

डरले आत्तिँदै भाग्छु, भ्रमण गर्नु छ पुरै सहरको

अन्तैतिर लाग्छु ।

हिँड्दै गर्दा सडकपेटीमा मेरा खुट्टामा छाँद हाल्न आइपुग्छ

एउटा बालक लास ।

सुक्खा आँखा, धसिएको कञ्चट र रित्तिँदै गरेको सास

अनि उठेको निधार र, निधारमा लेखिएको छ

उसको परिचय:नाम: अनाथ लास

बाबुको नाम: श्रीमान् मालिक लास

आमाको नाम: कुमारी नोकर्नी लास

जन्मस्थान: मन्दिर जस्तो लाग्ने खण्डहर ।

ऊ भन्छ “भोकै छु हजुर, पाँच रुप्पे दिनोस् न ।”

उसको हातमा केही फुटकर पैसा थमाउँदै

म हिँड्छु त्यहाँबाट आफ्नो बाटो समाउँदै ।

जब पुग्छु एउटा ठुलो व्यापारिक केन्द्रको भवनमा

देख्छु अनेकौँ व्यापारी लासहरू

अलग–अलग कोठाहरूमा फरक–फरक वस्तु

र सेवाको बिक्री–वितरण गरिरहेछन् ।

श्यामवस्त्रधारी न्याय बेच्ने लासहरू हातमा तराजु लिएर

तौली–तौली न्याय बेच्दै छन् महँगो मूल्यमा ।

पैसा धेरै हुने लासहरू बोराका बोरा न्याय किन्दै छन्

अलि थोरै पैसा हुनेहरू झोलामा र त्योभन्दा पनि थोरै हुनेहरू

हातैमा थाप्दै छन् आफूले किनेको न्याय ।

कतिपय लासहरू मूल्य सूची हेरेर मात्र फर्किँदै छन् ।

पसलको भित्तामा लेखिएको छ:

“न्याय निःशुल्क वा उधारो माग्नु दण्डनीय अपराध हो ।”

व्यापारी लासहरू ठुलो स्वरमा ग्राहक बोलाउँदै छन्

“आउनुहोस् ! यहाँ शरीर, यौवन र कौमार्य किन्न पाइन्छ !”

“यहाँ आरोग्यता र योग्यताको प्रमाणपत्र किन्न पाइन्छ !”

“यहाँ नयाँ धर्म किन्न र पुरानो धर्म बेच्न पाइन्छ !”

म निस्कन्छु त्यहाँबाट

मलाई केही किन्नु–बेच्नु छैन ।

हिँड्दै गर्दा एउटा खोल्साको किनारै–किनार

भर्खरै प्रयोग गरी फ्याँकिएका र मनतातो वीर्यले भरिएका

रबरका गर्भनिरोधक खोलहरूमा चिप्लेर लड्छु ।

उठेर हिँड्न खोज्दा न्याय किन्न नसकेका अनेकौँ लासहरू

मेरा खुट्टा समात्न आइपुग्छन् र एकै स्वरमा पुकारा गर्छन्

“ए जिउँदो मान्छे ! हाम्रो निम्ति न्याय दिलाइदेऊ !”

जन्मनेबित्तिकै फ्याँकिएका, सालनालले बेरिएका

गिद्ध र स्यालले घेरिएका नवजात लासहरू

बाबुले फिरौतीको रकम जुटाउन नसक्दा

टाउको र गिँड छुट्याई फ्याँकिएका बालक लासहरू

सबै पुकारा गर्दै छन्

“ए जिउँदो मान्छे ! हाम्रो निम्ति न्याय दिलाइदेऊ !”

म आफ्नो लाचारीलाई धिक्कार्दै मूल सडकतिर लाग्छु

जहाँ मेरा अघि–अघि हिँड्दै छन् दुई युवा लासहरू

खैरो पानीको चालमा, खैरो चिनीको खोजीमा

आमाको रगतले लत्पतिएको गहना

र बाबुको रगतले लत्पतिएको पैसाको मुठो हातमा लिएर ।

तातो तावामा हिँडेजस्तो भतभती पोल्ने बाटो छ

डढेलोको रापजस्तो हावा पनि तातो छ ।

तिर्खाले ओठमुख सुकेको छ, पानी खोजिरहेछु

तर पानी कतै छैन, छ त केवल रक्त, मूत्र, वीर्य र विष्ठाको सम्मिश्रण !

सक्ने लासहरू रगत पिउँदा रहेछन् मदिरासँग मिसाउँदै

नसक्नेहरू आँसु पिउँदा रहेछन् पसिनासँग मिसाउँदै ।

एउटा ठुलो चौरमा ‘खुल्ला सुन्दरी प्रतियोगिता’ भइरहेछ

जहाँ युवती लासहरू अङ्गप्रत्यङ्गको नाप दिँदै मञ्चमा हिँड्दै छन्

पुच्छर काटिएका बाख्रीहरूझैँ !

निर्णायक लासहरू अङ्क दिँदै छन्, र विजेताहरू

स्वतन्त्रता बेचेको करारनामामा हस्ताक्षर गर्दै छन् ।

अब मेटिन्छ भ्रमण गर्ने रहर, लाग्न थाल्छ लास बनाइने डर ।

रौरवको गौरव अब हेर्नु छैन, विभत्स दृश्य कतै कोर्नु छैन ।

गलत रहेछ मेरो निर्णय भ्रमण गर्नु त्यो सहरको !

म कुद्दै भाग्छु त्यहाँबाट पछाडि हेर्दै नहेरी ।

भाग्दै गर्दा बाँसुरीको मिठो धुनसँगै

कानमा आवाज गुञ्जन्छ “सम्भवामि युगे युगे ।”

मनमा फेरि आशा पलाउँछ कोही त आउला,

जसले यी लासहरूको सामूहिक चिता जलाउला

अनि जिउँदा मानिसहरूको नयाँ सृष्टि चलाउला ।

ओम् तत्सत् !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.