म भ्रमण गर्दै छु लासहरूको सहरमा
जीवन्तता देख्दिनँ यहाँ कतै पनि
सडकमा, पेटीमा, आकाशे पुलहरूमा
झुपडीमा, महलमा, मान्छेका हुलहरूमा ।
म देख्छु केवल मरेका, सडेगलेका लासहरू !
कात्रोले समेत नछोपिएका
घिनलाग्दा नाङ्गा लासहरू !
कोही पैदल हिँड्दै छन्
कोही सवार छन् गाडीमा
कोही आफ्ना जोडीसँगै अभ्यस्त छन् काममा
सडक आसपासका सुकेका झाडीमा ।
खाइलाग्दा देखिन्छन् कोही, कोही छन् कुपोषित नरकङ्काल !
बोल्छन्, चल्छन्, सास फेर्छन्
कोही गर्छन् अट्टहास !
खित्का छोड्छन्, चित्कार गर्छन्
बडो विचित्रका छन् यी लासहरू !
उक्लँदै गर्दा आकाशे पुलमाथि
एउटा नारी आकृतिको लास,
म नजिक आउँछ ।
कस्तो–कस्तो इसारा गर्दै मेरो कानमा सुटुक्क भन्छ
“के तिमी लास बन्न चाहन्छौ ? हिँड, म तिमीलाई लास बन्न सघाउँछु ।
पुंसत्व छ भने हिम्मत गर, मेरो सेवा महँगो छैन, मौका आउँछ पर्खँदैन ।”
म पुंसत्व प्रमाणित गर्ने चुनौतीलाई बेवास्ता गर्दै
डरले आत्तिँदै भाग्छु, भ्रमण गर्नु छ पुरै सहरको
अन्तैतिर लाग्छु ।
हिँड्दै गर्दा सडकपेटीमा मेरा खुट्टामा छाँद हाल्न आइपुग्छ
एउटा बालक लास ।
सुक्खा आँखा, धसिएको कञ्चट र रित्तिँदै गरेको सास
अनि उठेको निधार र, निधारमा लेखिएको छ
उसको परिचय:नाम: अनाथ लास
बाबुको नाम: श्रीमान् मालिक लास
आमाको नाम: कुमारी नोकर्नी लास
जन्मस्थान: मन्दिर जस्तो लाग्ने खण्डहर ।
ऊ भन्छ “भोकै छु हजुर, पाँच रुप्पे दिनोस् न ।”
उसको हातमा केही फुटकर पैसा थमाउँदै
म हिँड्छु त्यहाँबाट आफ्नो बाटो समाउँदै ।
जब पुग्छु एउटा ठुलो व्यापारिक केन्द्रको भवनमा
देख्छु अनेकौँ व्यापारी लासहरू
अलग–अलग कोठाहरूमा फरक–फरक वस्तु
र सेवाको बिक्री–वितरण गरिरहेछन् ।
श्यामवस्त्रधारी न्याय बेच्ने लासहरू हातमा तराजु लिएर
तौली–तौली न्याय बेच्दै छन् महँगो मूल्यमा ।
पैसा धेरै हुने लासहरू बोराका बोरा न्याय किन्दै छन्
अलि थोरै पैसा हुनेहरू झोलामा र त्योभन्दा पनि थोरै हुनेहरू
हातैमा थाप्दै छन् आफूले किनेको न्याय ।
कतिपय लासहरू मूल्य सूची हेरेर मात्र फर्किँदै छन् ।
पसलको भित्तामा लेखिएको छ:
“न्याय निःशुल्क वा उधारो माग्नु दण्डनीय अपराध हो ।”
व्यापारी लासहरू ठुलो स्वरमा ग्राहक बोलाउँदै छन्
“आउनुहोस् ! यहाँ शरीर, यौवन र कौमार्य किन्न पाइन्छ !”
“यहाँ आरोग्यता र योग्यताको प्रमाणपत्र किन्न पाइन्छ !”
“यहाँ नयाँ धर्म किन्न र पुरानो धर्म बेच्न पाइन्छ !”
म निस्कन्छु त्यहाँबाट
मलाई केही किन्नु–बेच्नु छैन ।
हिँड्दै गर्दा एउटा खोल्साको किनारै–किनार
भर्खरै प्रयोग गरी फ्याँकिएका र मनतातो वीर्यले भरिएका
रबरका गर्भनिरोधक खोलहरूमा चिप्लेर लड्छु ।
उठेर हिँड्न खोज्दा न्याय किन्न नसकेका अनेकौँ लासहरू
मेरा खुट्टा समात्न आइपुग्छन् र एकै स्वरमा पुकारा गर्छन्
“ए जिउँदो मान्छे ! हाम्रो निम्ति न्याय दिलाइदेऊ !”
जन्मनेबित्तिकै फ्याँकिएका, सालनालले बेरिएका
गिद्ध र स्यालले घेरिएका नवजात लासहरू
बाबुले फिरौतीको रकम जुटाउन नसक्दा
टाउको र गिँड छुट्याई फ्याँकिएका बालक लासहरू
सबै पुकारा गर्दै छन्
“ए जिउँदो मान्छे ! हाम्रो निम्ति न्याय दिलाइदेऊ !”
म आफ्नो लाचारीलाई धिक्कार्दै मूल सडकतिर लाग्छु
जहाँ मेरा अघि–अघि हिँड्दै छन् दुई युवा लासहरू
खैरो पानीको चालमा, खैरो चिनीको खोजीमा
आमाको रगतले लत्पतिएको गहना
र बाबुको रगतले लत्पतिएको पैसाको मुठो हातमा लिएर ।
तातो तावामा हिँडेजस्तो भतभती पोल्ने बाटो छ
डढेलोको रापजस्तो हावा पनि तातो छ ।
तिर्खाले ओठमुख सुकेको छ, पानी खोजिरहेछु
तर पानी कतै छैन, छ त केवल रक्त, मूत्र, वीर्य र विष्ठाको सम्मिश्रण !
सक्ने लासहरू रगत पिउँदा रहेछन् मदिरासँग मिसाउँदै
नसक्नेहरू आँसु पिउँदा रहेछन् पसिनासँग मिसाउँदै ।
एउटा ठुलो चौरमा ‘खुल्ला सुन्दरी प्रतियोगिता’ भइरहेछ
जहाँ युवती लासहरू अङ्गप्रत्यङ्गको नाप दिँदै मञ्चमा हिँड्दै छन्
पुच्छर काटिएका बाख्रीहरूझैँ !
निर्णायक लासहरू अङ्क दिँदै छन्, र विजेताहरू
स्वतन्त्रता बेचेको करारनामामा हस्ताक्षर गर्दै छन् ।
अब मेटिन्छ भ्रमण गर्ने रहर, लाग्न थाल्छ लास बनाइने डर ।
रौरवको गौरव अब हेर्नु छैन, विभत्स दृश्य कतै कोर्नु छैन ।
गलत रहेछ मेरो निर्णय भ्रमण गर्नु त्यो सहरको !
म कुद्दै भाग्छु त्यहाँबाट पछाडि हेर्दै नहेरी ।
भाग्दै गर्दा बाँसुरीको मिठो धुनसँगै
कानमा आवाज गुञ्जन्छ “सम्भवामि युगे युगे ।”
मनमा फेरि आशा पलाउँछ कोही त आउला,
जसले यी लासहरूको सामूहिक चिता जलाउला
अनि जिउँदा मानिसहरूको नयाँ सृष्टि चलाउला ।
ओम् तत्सत् !

