मञ्चमा उभिएर
ठूला शब्द उछाल्न सजिलो छ
क्रान्ति, आमूल परिवर्तन
जनवादको पुल तरेर
समाजवाद हुँदै
साम्यवादको आकाश छुने सपना !
तर कमरेड
क्रान्ति घोषणाबाट होइन
चरित्रबाट जन्मिन्छ।
आकाशतिर औँला ठड्याउँदा
खुट्टामुनिको जमिन
कहिल्यै हल्लिएको छ कि छैन
फर्केर हेरेका छौ ?
घरको आँगनमै डर उम्रिन्छ
मौन बस्छ
अदृश्य सामन्त भित्ताभित्रै जरा हाल्छ ।
घरमै हारेर संसार जित्ने नारा
कहिल्यै इतिहास बनेको छ ?
यी जरा उखेल्न नसकी कुन परिवर्तनको दाबी ?
कुर्सी चढेपछि शब्द आदेश बन्छ
अनुहारमा जनता होइन
सत्ताको ऐना टाँसिन्छ।
कुर्सी पुरस्कार होइन
चरित्रको परीक्षा हो।
चुनाव आउँछ
आदर्शको ठाउँमा नोटका माला
भाषणको ठाउँमा सम्झौता
राष्ट्रको ढोकामा साम्राज्यको छायाँ लम्पसार !
मत होइन, आत्मा साटिएको दिन
हार सुरु हुन्छ ।
कम्युनिस्ट संस्कार घोषणामा होइन
अनुशासनको पसिनामा
इमानको आँटमा
समानताको दैनिक अभ्यासमा उम्रिन्छ ।
विचार किताबमा होइन
दिनचर्यामा बोल्नुपर्छ ।
समाधि— गुफाको शून्य होइन
आफ्नो जीवनलाई आफ्नै विचारसँग मिलाउँदा
मनभित्र बल्ने शान्त आगो हो ।
अब चुनाव आउँदैछ
ब्यालेट कागज मात्र होइन, जनताको ऐना हो ।
यहाँ छुट्टिन्छ— को नारा मात्र हो, को अभ्यास।
जनता भाषण सुन्दैनन्, जीवन पढ्छन्।
पहिले आफ्नैभित्रको सामन्त उखेलौँ
पहिले आफ्नै जीवनमा समाजवाद रोपौँ ।
किनकि नयाँ नेपाल
नयाँ अनुहारले होइन, नयाँ संस्कारले बन्छ ।
त्यसपछि मात्रै मतपेटिकाबाट निस्कने
साना कागजहरू इतिहास बन्नेछन्
नाराले होइन
जीवनले लेखिएको साँचो नाममा ।

