भर्खरको सुत्केरी बिरालो
हिँडिरहेछ आफ्ना छाउरा ताँती लगाएर
मातृवात्सल्यमा चुर्लुम्म डुब्छु म
एक हुल बिरालाले
खुसीका कैयौँ झट्का दिएर गए ।
एक हुल परेवा
कनिका टिप्दै छन् आँगनमा भेला भएर
तिनीहरूसँग बोरा थिएन
तिनीहरूसँग सत्ता थिएन
थियो त केवल भोक र पेट ।
परेवाको जमातले
खुसीका कैयौँ भारी बिसाएर गए ।
पश्चिमी क्षितिजबाट
ओर्लिइरहेछ क्रमश वृद्ध सूर्य
न कुनै गुनासो, न कुनै कुण्ठा ।
उदाउँदा र अस्ताउँदाको
आकृति उस्तै, रङ उस्तै, उज्यालो उस्तै
सूर्यको यो नियतिले
खुसीका कैयौँ आलाप पोखेर गयो ।
नदीको दुवै किनार छोएर
बगिरहेछ पानी
हिउँद होस् वा बर्खा, उही छ प्रवृत्ति नदीको ।
न तर्नेहरूलाई पर्खन्छ, न पिउनेहरूलाई पर्खन्छ
नदीको यो गतिले
खुसीका कैयौँ प्रवाह चढाएर गयो ।
खुसी कुनै परिणाम होइन
ताकि यसले परीक्षा बेहोर्नु परोस्
खुसी कुनै फल होइन
ताकि यसले बोट स्वीकार्नु परोस्
खुसी कुनै लेनदेन पनि होइन
ताकि यसले हिसाब–किताब गर्नु परोस् ।
कुनै रङ हुँदैन खुसीको
कुनै तौल हुँदैन खुसीको
कुनै आकार हुँदैन खुसीको ।

