साहित्यपोस्ट डट कम

कविता : खुसी

कविता : खुसी

भर्खरको सुत्केरी बिरालो

हिँडिरहेछ आफ्ना छाउरा ताँती लगाएर

मातृवात्सल्यमा चुर्लुम्म डुब्छु म

एक हुल बिरालाले

खुसीका कैयौँ झट्का दिएर गए ।

एक हुल परेवा

कनिका टिप्दै छन् आँगनमा भेला भएर

तिनीहरूसँग बोरा थिएन

तिनीहरूसँग सत्ता थिएन

थियो त केवल भोक र पेट ।

परेवाको जमातले

खुसीका कैयौँ भारी बिसाएर गए ।

पश्चिमी क्षितिजबाट

ओर्लिइरहेछ क्रमश वृद्ध सूर्य

न कुनै गुनासो, न कुनै कुण्ठा ।

उदाउँदा र अस्ताउँदाको

आकृति उस्तै, रङ उस्तै, उज्यालो उस्तै

सूर्यको यो नियतिले

खुसीका कैयौँ आलाप पोखेर गयो ।

नदीको दुवै किनार छोएर

बगिरहेछ पानी

हिउँद होस् वा बर्खा, उही छ प्रवृत्ति नदीको ।

न तर्नेहरूलाई पर्खन्छ, न पिउनेहरूलाई पर्खन्छ

नदीको यो गतिले

खुसीका कैयौँ प्रवाह चढाएर गयो ।

खुसी कुनै परिणाम होइन

ताकि यसले परीक्षा बेहोर्नु परोस्

खुसी कुनै फल होइन

ताकि यसले बोट स्वीकार्नु परोस्

खुसी कुनै लेनदेन पनि होइन

ताकि यसले हिसाब–किताब गर्नु परोस् ।

कुनै रङ हुँदैन खुसीको

कुनै तौल हुँदैन खुसीको

कुनै आकार हुँदैन खुसीको ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.