साहित्यपोस्ट डट कम

कविता : खुला आकाशका प्रश्नहरू

कविता : खुला आकाशका प्रश्नहरू

एक किसिमको नजानिँदो सन्त्रासले अनवरत पछ्याउँदा

होटलमा, बारमा

स्कुलमा, कलेजमा

पार्कमा, जुवाघरमा

अस्पतालमा, ग्रोसरी पसलमा…

अथवा भनौँ, सबै–सबै सार्वजनिक स्थलहरूमा

सधैँ–सधैँ भयभीत मन

रातोदिन, बेला–कुबेला अनायास बज्ने

कल–बेल, फोन–रिङ वा साइरनसँग

हरदम झस्किरहन्छ ।

बिजुलीको गतिमा हुर्हुराउँदो

बन्दुके ‘ब्रेकिङ न्युज’ सँगै

डराउँदै–डराउँदै आफन्तहरूको खोज–खबर गरिरहन्छ ।

मौसमी पूर्वानुमानभन्दा फरक

अनायास झस्काउने भुइँचालोझैँ

अकल्पित ‘डेड्ली सुटिङ’हरूका बीचमा

अप्रत्याशित ‘ब्लड–बाथ’का शृङ्खलाभित्र

कति स्निग्ध छ खुला आकाशको चाहना ?

फुट्नै लागेको बलुनजस्तै

छुट्नै लागेको मेसिनगनको गोलीजस्तै

खै ! कति सुरक्षित छ आजको अमेरिकी सपना ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.