साहित्यपोस्ट डट कम

कविता : खोई ती खोलाहरू ?

कविता : खोई ती खोलाहरू ?

फाँडिँदैछन् रूख र वनस्पतिहरू

सुक्दैछन् इनार र पँधेराहरू

झर्नै छोडे ढुङ्गेधाराहरू

छोपिँदैछन् निरन्तर

भाग्य झुल्ने हरियाली फाँटहरू

उठ्दैछन् निरन्तर कंक्रिटका पहाडहरू

खोई, कतिन्जेल पो बाँच्ने हो

यो मानव समाज

सिलिन्डरमा भरेको अक्सिजन पिएर ?

भनिदेऊ न विज्ञहरू

कतिन्जेल पो टिक्ने हो मानव बस्ती

प्रकृतिलाई नै क्षत-विक्षत बनाएर ?

प्रदूषित छ आकाश

प्रदूषणमुक्त छैन वायु

दूषित छन् सडक, पाइला र परिवेशहरू

कलुषित बन्दैछ मानव समाज

थोपर्दै प्रकृतिमाथि दुराचार

खोई कहिलेसम्म बाँच्ला यो समाज

प्रकृतिमाथि नै अप्राकृतिक धावा थोपरेर ?

ठूला मान्छेहरूको बस्ती हो यो

शिक्षित र विज्ञहरूको नगर

देश हाँक्ने सिंहदरबार विराजमान

सभ्यता र सुसंस्कारले सुसज्जित सहर

कानुन बन्छ यहाँ, कार्यान्वयन गराउँछ यही

सिकाउँछन् यहाँ सबै

तर, सिक्दैन यो बहुलट्टी सहर ।

के थाहा छ कसैलाई

के बगाउँछ यहाँका खोलाहरूमा यो सहर ?

आफ्नै मलमूत्र बगाउँछ

बगाउँछ ढेर सारा निर्लज्ज कहर ।

स्वच्छ जलप्रवाह हुनुपर्ने ती खोलाहरू

बगाउँदैछन् सकी-नसकी सहरका घाउहरू

पखाल्दैछन् सहरबाट निस्किरहने

कर्तव्यहीनताका पापकर्महरू

खोई कहिलेसम्म बाँच्ला यो

सभ्य मान्छेहरूको भव्य राजधानी

प्रकृतिमाथि यहाँसम्मको अन्याय थोपरेर

प्रकृतिमाथि नै अप्राकृतिक हिंसा झोसेर ?

ती लहरै उडेर आउने

पाहुना चराहरूको क्याराभानलाई स्वागत गर्दै

बिर्सिन्थे आफ्ना थकाइ र सुस्केराहरू

यहाँका धर्ती र आकाशले

न त चारो टिप्ने खेत-खलियान रह्यो

न त प्यास मेटाउने खोलाहरू

बन्द भयो अब पक्षी क्याराभान

गुमायो त्यो सुन्दर क्यानभासमा आफूलाई जोड्ने अवसर

प्रकृति, आकाश र वायुले ।

के तिमीले सुन्यौ

ती फाँटहरूको चिच्याहट ?

के तिमीले महसुस गर्‍यौ ?

अव्यवस्थित कंक्रिटका पहाडहरूले थिचिएका

तिनका अन्तिम श्वास-प्रश्वासहरू

के तिमीलाई आभास भयो

आफ्नै अस्तित्वमाथि सोझिँदै गरेका

जीवन-चुनौतीका प्रश्नचिह्नहरू ?

किनकि यो पृथ्वी

मान्छे र प्रकृतिबिचको सहअस्तित्वको घर हो

प्रकृति मासेर मानव जीवन फुलाउने चाहना

केवल दिवास्वप्न हो ।

त्यसैले फेरि एकपटक

खोजिरहेछु म यो राजधानीमा

पूर्खाले भिज्ने गरेको

यहाँको भूमिले सिञ्चित हुने गरेको

ती स्वच्छ मनमती, बागमती, र विष्णुमतीहरू

खोजिरहेछु म ती हनुमन्ते र खस्याङखुसुङहरू

सोधिरहेछु पटक-पटक

खोई ती खोलाहरू ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.