फाँडिँदैछन् रूख र वनस्पतिहरू
सुक्दैछन् इनार र पँधेराहरू
झर्नै छोडे ढुङ्गेधाराहरू
छोपिँदैछन् निरन्तर
भाग्य झुल्ने हरियाली फाँटहरू
उठ्दैछन् निरन्तर कंक्रिटका पहाडहरू
खोई, कतिन्जेल पो बाँच्ने हो
यो मानव समाज
सिलिन्डरमा भरेको अक्सिजन पिएर ?
भनिदेऊ न विज्ञहरू
कतिन्जेल पो टिक्ने हो मानव बस्ती
प्रकृतिलाई नै क्षत-विक्षत बनाएर ?
प्रदूषित छ आकाश
प्रदूषणमुक्त छैन वायु
दूषित छन् सडक, पाइला र परिवेशहरू
कलुषित बन्दैछ मानव समाज
थोपर्दै प्रकृतिमाथि दुराचार
खोई कहिलेसम्म बाँच्ला यो समाज
प्रकृतिमाथि नै अप्राकृतिक धावा थोपरेर ?
ठूला मान्छेहरूको बस्ती हो यो
शिक्षित र विज्ञहरूको नगर
देश हाँक्ने सिंहदरबार विराजमान
सभ्यता र सुसंस्कारले सुसज्जित सहर
कानुन बन्छ यहाँ, कार्यान्वयन गराउँछ यही
सिकाउँछन् यहाँ सबै
तर, सिक्दैन यो बहुलट्टी सहर ।
के थाहा छ कसैलाई
के बगाउँछ यहाँका खोलाहरूमा यो सहर ?
आफ्नै मलमूत्र बगाउँछ
बगाउँछ ढेर सारा निर्लज्ज कहर ।
स्वच्छ जलप्रवाह हुनुपर्ने ती खोलाहरू
बगाउँदैछन् सकी-नसकी सहरका घाउहरू
पखाल्दैछन् सहरबाट निस्किरहने
कर्तव्यहीनताका पापकर्महरू
खोई कहिलेसम्म बाँच्ला यो
सभ्य मान्छेहरूको भव्य राजधानी
प्रकृतिमाथि यहाँसम्मको अन्याय थोपरेर
प्रकृतिमाथि नै अप्राकृतिक हिंसा झोसेर ?
ती लहरै उडेर आउने
पाहुना चराहरूको क्याराभानलाई स्वागत गर्दै
बिर्सिन्थे आफ्ना थकाइ र सुस्केराहरू
यहाँका धर्ती र आकाशले
न त चारो टिप्ने खेत-खलियान रह्यो
न त प्यास मेटाउने खोलाहरू
बन्द भयो अब पक्षी क्याराभान
गुमायो त्यो सुन्दर क्यानभासमा आफूलाई जोड्ने अवसर
प्रकृति, आकाश र वायुले ।
के तिमीले सुन्यौ
ती फाँटहरूको चिच्याहट ?
के तिमीले महसुस गर्यौ ?
अव्यवस्थित कंक्रिटका पहाडहरूले थिचिएका
तिनका अन्तिम श्वास-प्रश्वासहरू
के तिमीलाई आभास भयो
आफ्नै अस्तित्वमाथि सोझिँदै गरेका
जीवन-चुनौतीका प्रश्नचिह्नहरू ?
किनकि यो पृथ्वी
मान्छे र प्रकृतिबिचको सहअस्तित्वको घर हो
प्रकृति मासेर मानव जीवन फुलाउने चाहना
केवल दिवास्वप्न हो ।
त्यसैले फेरि एकपटक
खोजिरहेछु म यो राजधानीमा
पूर्खाले भिज्ने गरेको
यहाँको भूमिले सिञ्चित हुने गरेको
ती स्वच्छ मनमती, बागमती, र विष्णुमतीहरू
खोजिरहेछु म ती हनुमन्ते र खस्याङखुसुङहरू
सोधिरहेछु पटक-पटक
खोई ती खोलाहरू ?

