जिन्दगी खेल हो भन्नेहरूले
मस्त खेल्छन् र जितेर जान्छन् / हराएर जान्छन्
हार, जित, धोका, प्रेम, सुखदुःख
कहाँ छ र जिन्दगी—
— हार्नेलाई नहारेजस्तो
— जित्नेलाई नजितेजस्तो ।
मैदानमा उत्रेको संसारको महान् फुटबलर
ऊ फुटबलरभन्दा ज्यादा योद्धा लाग्छ
धकेल्नु, लडाउनु, चोटिल बनाउनु
आक्रोशित अनुहारसँगै दौडिनु
जानाजान ठोक्किनु र घाइते बनाउनु
खेलभित्र अर्कै खेल भइरहेको जस्तो लाग्छ ।
विपरीत पक्षकोले रेड कार्ड पाउँदा
बेहद खुसी हुन्छ अर्को पक्षको खेलाडी !
क्रिकेट मैदानको एउटा महान् क्रिकेटर
ब्याटलाई ब्याटभन्दा ज्यादा हतियार सम्झिन्छ
उसले लिएको बललाई ग्रेनेड सम्झिन्छ
विकेट लिँदाभन्दा ज्यादा
बाउन्सर मारेर चोटिल बनाउँदा खुसी देखिन्छ ।
खेल; खेलभन्दा ज्यादा
तेस्रो विश्वयुद्धको तयारी जस्तो लाग्छ ।
याद गर्नुस् त बालापन
त्यो सानो उमेरमा पनि हामी
साना औँलाले सानो गुच्चा लिएर
अर्को सानो साथीको सानो गुच्चा
टोल्न होइन, फुटाउन लागिपर्थ्यौँ
र उसको आँसुमा मज्जाले हाँस्थ्यौँ !
कति सजिलै हामी पौडी खेल्दाखेल्दै
सँगैको साथीको टाउको पानीमा डुबाइदिन्थ्यौँ
र पर गएर आफूले जितेकोमा गर्व गर्थ्यौँ ।
भलिबल खेल खेलभन्दा ज्यादा
सिमानामा चलेको युद्ध जस्तो लाग्छ
सर्भिस गर्नेले सेवा गर्दैन— क्षेप्यास्त्र हान्छ
सट हान्नेले सिमानापारिकालाई घाइते बनाउँछ
र रिसले चुर भएको मुद्रामा
जितको खुसियाली मनाउँछ ।
राजनीति खेल हो भन्नेले
जनतालाई छल्न मात्रै खेल भनेका हुन्
यो त कहिल्यै नसकिने भीषण युद्ध हो ।
कसैलाई पछार्नु, लडाउनु, रगताम्य बनाउनु
र, कसैको दुःखमा मज्जा लिनु
खेल, खेलजस्तो नभएर युद्धजस्तो छ
र हामी
दर्शक भएर युद्धको मज्जा लिइरहेछौँ…

