साहित्यपोस्ट डट कम

कविता : के तिमी नारी बन्न सक्छौ !

कविता : के तिमी नारी बन्न सक्छौ !

म भगवान् कृष्ण बनेर गोपिनीहरूको उद्धार गर्नेछु

सारा ब्रह्माण्डलाई प्रेम बाँड्नेछु

के तिमी मेरी राधा बन्न सक्छौ ?

राधा बनेर कालान्तरसम्म

बिछोडको पीडा सहेर भतभती पोलेको मुटु बोकेर हिँड्न सक्छौ ?

म बन्नेछु राम

माता-पिताको आज्ञाकारी सुपुत्र

अनि दाजुभाइ, भाउजू-बुहारीको प्रिय बन्नेछु

के तिमी मेरी सीता बन्न सक्छौ ?

बरु म रोज्नेछु मर्यादा, शङ्काको घेराबाट अलि दूर रहनेछु

तर मेरा लागि अग्नि-परीक्षा दिन सक्छौ ?

म बन्नेछु शान्तिको दूत गौतम बुद्ध

सांसारिक बन्धनबाट छुटकारा पाउनका लागि

दुधे बालक, भर्खरकी कलकलाउँदी पत्नीलाई

थाहै नदिई मध्यरातमा सुटुक्क निस्कन्छु शान्तिको खोजीमा

जसले पिताको माया र मातृत्व बाँडेर

पिताको जिम्मेवारी वहन गरी एक्लै हुर्काउँछिन्, बढाउँछिन्

छोराको स्याहार-सुसारमा र श्रीमान्‌को पर्खाइमा पूरै जीवन बिताउँछिन्

बरु म बेलाबेला सम्झना पठाउनेछु

के तिमी मेरी यशोधरा बन्न सक्छौ ?

म बन्नेछु त्रिलोकपति भगवान् शिव

के तिमी मेरी सती बन्न सक्छौ ?

मेरा लागि आगोमा होमिएर

सारा संसारलाई माया जोखेर देखाउन सक्छौ ?

महाभारतमा धर्म, साहस र सत्यको पक्ष लिने

सबैको न्यायकर्ता, अझ भनौँ

हजारौँ हात्ती बराबरको बल भएका पाँच पाण्डवहरू बन्नेछु

के तिमी हामी पाँच भाइकी द्रौपदी बन्न सक्छौ ?

जसलाई माताको वचन हार्न नसकेर एकाआपसमा वस्तुसरी बाँड्नेछौँ ।

जतिसुकै निरङ्कुश होस्, जतिसुकै तुच्छ होस्, जतिसुकै दुष्ट होस्

भाइचारालाई बलियो पिल्लर ठानेका छौँ

सक्दैनौँ घरभित्रको अन्यायको डोरीलाई चुँडाउन ।

दुर्योधनजस्तो दाजुभाइ हाबी हुँदा तिमी द्रौपदी बनेर

आफ्नो इज्जत, आत्मसम्मान, मान र प्रतिष्ठा तिलाञ्जली दिन सक्छौ ?

म बन्नेछु पुरुष, के तिमी नारी बन्न सक्छौ ?

म हुनेछु तिम्रो विश्वास, तिम्रो रक्षक, माली र पुजारी

तर मेरा लागि, मेरा परिवारका लागि तिमीले आफ्नो सफर बदल्नुपर्छ

मेरो सपनाको लागि आफ्नो सपना कुल्चिनुपर्छ

मेरा आफ्ना प्रिय मान्छेहरूका लागि

तिमीले आफ्ना प्रिय मान्छेहरू त्याग्नुपर्छ ।

मैले कोरिरहेको भविष्यको नक्सामा

तिम्रो कहीँ कतै रेखा देखिनुहुँदैन

तिमी त मेरी अर्धाङ्गिनी, मेरा दुई हात अनि साथमा साथ हुनुपर्छ ।

उडाउनेछु तिमीलाई मेरो आफ्नै संसारमा

जहाँ मैले नापेजति, तोकेजति उडान भरिदिनु ।

बरु म आफ्नै हातले सोह्र शृङ्गारमा सजाउनेछु तिमीलाई

सुन्दर देखिने फूलहरू नखरा देखाउँछन्

सुन्दर हुनाले जून पनि घमण्ड गर्छे

तिमीलाई पनि अहम्ताले नछोपोस् भनेर

सिउँदोमा सबैले देख्ने गरी एक धर्को सिन्दूर पोतिदिनेछु

गलामा मङ्गलसूत्र भिराइदिनेछु ।

तिमी आफैँ पनि त कहिलेकाहीँ बिर्सन सक्छौ

त्यसैले कहिल्यै नउतार्नु हातैभरि बज्ने काँचका चुरा,

टाढासम्म सुनिने पाउजुको छमछम

जसले तिमीलाई म र मसँग गाँसिएका सम्बन्धहरूले झकझकाइरहनेछ ।

बरु म तिमीलाई राख्नेछु सुनको दरबारमा

अझै केही कमी भयो र ?

भन प्रिय, अझै केही कमी छ भने

म तिम्रो लागि जे पनि गर्न सक्छु

के म पुरुष हुँदा, तिमी नारी बन्न सक्छौ ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.